चुनाव प्रचारमा बालबालिकाको प्रयोग

0
Shares

हिक्मत नेपाली, दैलेख
अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दलहरू चुनावी अभियानमा छन्। निर्वाचन नजिकिँदै गर्दा दलहरूको चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ।

जिल्लाका विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका दलले बालबालिकालाई प्रयोग गरेका हुन्। राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन अभियानमा बालबालिकाको प्रयोग गर्नु निर्वाचन आचारसंहिता उल्लंघन हो। निर्वाचन आचारसंहिताविपरीत विभिन्न राजनीतिक दलले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेका हुन्। बालबालिकाहरू राजनीतिक दलको चुनावी र्याली र सभामा खुलेआम प्रयोग गरिएका छन्।

नेपाली कांग्रेस दैलेख क्षेत्र नं. २ द्वारा आयोजित चुनावी र्यालीमा बालबालिकालाई प्रयोग गरिएको छ। सोमबार नेपाली कांग्रेसले जम्बुकाँधमा आयोजना गरेको चुनावी आमसभामा निर्वाचन आचारसंहितालाई मिच्दै बालबालिकाको प्रयोग गरेको हो। बालबालिकाहरूले कांग्रेसको झन्डा समाएर नारा लगाइरहेका थिए। नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलगायतका दलहरूले विभिन्न चुनावी र्यालीमा बालबालिकाको प्रयोग गरिरहेका छन्।

चुनावी र्यालीमा नाबालकसमेत हातमा झन्डा बोकेर हिँडेका देखिए। केन्द्रीय तहमा राजनीतिक दलले चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाए पनि स्थानीयस्तरमा व्यापक प्रयोग भइरहेको छ। राजनीतिक दलका स्थानीय नेताहरूले बालबालिका आफ्नै रहरले दलका कार्यक्रममा आउने गरेको बताए।

निर्वाचन आचारसंहिताले भने चुनावमा बालबालिकाको प्रयोगलाई बन्देज गरेको छ। आचारसंहितामा भनिएको छ– ‘उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन हुँदैन।’

आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बालबालिकाको प्रयोग गरे नगरेको बारे अनुगमनसमेत गरिएको छ। जिल्ला बालकल्याण समिति दैलेखले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा अनुगमन गरेको हो। अनुगमनमा गएका जिल्ला बाल कल्याण समिति दैलेखका सदस्य तथा राष्ट्रिय बाल संरक्षण सञ्जाल प्रदेश नं. ६ का संयोजक हीरासिंह थापाका अनुसार निर्वाचन नजिकिँदै गर्दा दलहरूको प्रचारप्रसारमा बालबालिका प्रयोग भइरहेको बताए।

कतिपय बालबालिका आफूखुसी दलको चुनावी कार्यक्रममा जाने गरेका छन्। उनले भने– ‘घरका अभिभावकले समेत आफ्ना छोराछोरीलाई चुनावी कार्यक्रममा जाउँ भनेर लैजाने गरेको पायौं।’ जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा बाल संरक्षणका क्षेत्रमा काम गर्दै आइरहेका सरकारी तथा गैरसरकारी संघ संस्थाले बालबालिका प्रयोग नगर्न दलहरूलाई आग्रह गरिरहेको छन्।