यमलाल भुसाल, बुटवल
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जनालाई बुटवलको प्रहरीले पक्राउ गरेको छ। पाल्ला जिल्लाका इन्चार्ज पार्वती विक, पाल्ला जिल्लाकै सेक्रेटरी भुवन जिसीलाई इलाका प्रहरी कार्यालय बुटवलले सोमबार दिउँसो करिब १२ बजेको समयमा बुटवलको पाल्पा रोडबाट पक्राउ गरेको छ।
त्यसअघि प्रहरीले रंगिलाल बानियाँ, उमाकान्त दुलाल, कुमार घर्ती र नरबहादुर शाहीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विमल भट्टराईले बताउनुभयो। बानियाँलाई रूपन्देहीको गंगोलियाबाट र बाँकी ३ जनालाई बुटवलको गोलपार्कबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।
यसअघि बुटवलको गोलपार्कमा शंकास्पद वस्तु फेला परेकोमा त्यो होक्स बम भएको प्रहरीले जनाएको छ। कपडामा बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि जनमानसमा त्रास फैलिएको थियो। शंकास्पद वस्तु देखेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको जबरजंग गणको बम डिस्पोजल टोलीले त्यसलाई डिस्पोज गर्न खोज्दा होक्स बम भएको प्रहरीले जनाएको छ।
बुटवल–पाल्पा सिद्धार्थ राजमार्गमा पर्ने गोलपार्कमा रहको पेट्रोल पम्पनजिकै शंकास्पद वस्तु देखिएपछि सडकको यातायात पनि केहीबेर प्रभावित भएको थियो। गोलपार्कमा होक्स बम राखेर नास्ता खान पाल्पा रोडमा रहेको एक रेस्टुरेन्टमा छिरेका पाल्पा जिल्लाका इन्चार्ज विक, र सेक्रेटरी जिसीलाई प्रहरीले पक्राउ गरेको बताएको छ। पक्राउ परेकाहरूको थप अनुसन्धान अगाडि बढाइएको प्रनाउ भट्टराईले बताउनुभयो।











प्रतिक्रिया