नेपाल समाचारपत्र
बैतडी
पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा वृद्धि हुन थालेका छन्। जिल्लाका राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन नगर्ने प्रतिवद्धता जनाएको भए पनि उनीहरूले उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन्।
यहाँका राजनीतिक दलहरूले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन्। प्रचारप्रसारका सामग्रीहरू पर्चा, पास्टर, झन्डालगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लंघन गरेको पाइएको छ। बैतडी सदरमुकाम गोठलापानी बजार, शाहिलेक बजार दलहरूका झन्डा तथा पर्चा पम्पलेटले दुलहीझैं सिंगारिदै गएका छन्।
यस्तै बैतडीको पाटन बजार, सतबाझ, देहिमांडौं, खोडपे बजार, खोचलेक बजारलगायतका क्षेत्रमा पनि झन्डाहरूको माला नै बनाएर प्रचारप्रसार गरेको पाइएको छ। विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको भए पनि बैतडीका केही दलहरूले चुनावीसभा पनि विद्यालयमै गरेका छन्। निर्वाचनमा प्रचारप्रसार गर्न ठूलो साउन्ड सिस्टमको प्रयोग गर्ने, ठूलो आवाजमा नारा लगाउने बालबालिकाको प्रयोग पनि गरेका छन्।
यसका साथै कतिपय ठाँउमा सरकारी पदधारण गरेका व्यक्ति, शिक्षक, कर्मचारी, पत्रकार पनि चुनावी प्रचारप्रसार तथा चुनावी आमसभामा सहभागी भएका देखिन्छन्। निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भए पनि स्थानीय पशासन तथा निर्वाचन कार्यालय मौन जस्तै बनेको छ। सम्बन्धित निकाय मौन बस्दा निर्वाचन आचारसंहिताका घटना वृद्धि हँुदै गएका हुन्।
प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।











प्रतिक्रिया