भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ ः प्रधानमन्त्री

0
Shares

नेपाल समाचारपत्र
काठमाडांै
प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते हुने निर्वाचन भयरहित वातावरणमा जनताले आफूले रोजेको उम्मेदवारलाई मतदान गर्नसक्ने गरी सुरक्षा प्रबन्ध मिलाउने दाबी गर्नुभएको छ।
गृह मन्त्रालयद्वारा सोमबार आयोजित प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं. ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले मतदान बिथोल्न खोज्ने अराष्ट्रिय तत्वलाई असफल बनाउने बताउँदै उहाँले भन्नुभयो– ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्करुपमा मतदान गर्ने वातावरण सरकारले बनाउँछ।’

सुरक्षा गोष्ठीमा गृह सचिव मोहनकृष्ण सापकोटाले भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो। कार्यक्रममा मध्यमाञ्चलन क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले मध्य क्षेत्रका सबै जिल्लाको सुरक्षा व्यवस्थाको अवस्था र निर्वाचनको सुरक्षाका लागि तयार गरेका योजनाका बारेमा जानकारी गराउनुभएको थियो।

सहभागीले प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखले समग्रमा विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा मुख्य चुनौती रहेको अवगत गराउँदै चुनौतीलाई समाधान गर्न सुरक्षा रणनीतिको सतर्कता अपनाइएको जानकारी दिनुभएको थियो। प्रदेश नम्बर ३ अन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला रहेका छन्।