निसीखोलामा मतदाता शिक्षा सामग्री लुटियो

0
Shares

सिर्जना पन्त, बागलुङ।
बागलुङ जिल्लाको क्षेत्र नं २ अन्तर्गतको निसीखोला गाउँपालिकामा मतदाता शिक्षाका लागि पुगेका स्वयंसेवकको साथमा रहेका मतदाता शिक्षा सामग्री शनिबार केही व्यक्तिले नियन्त्रणमा लिएर नष्ट गरेका छन्।

गाउँमा मतदाता शिक्षाका लागि पुगेका स्वयंसेवकका साथमा रहेका नमुना मतपत्र, पर्चा, पम्लेटलगायतका सामग्री नियन्त्रणमा लिएर च्यातिदिएको मतदाता शिक्षा कार्यकर्ता राधिका शर्माले बताइन्। दुई जनाको समूहमा आएका अपरिचित व्यक्तिले निसीखोला–३ मा रहेको जंगल कटेर गाउँमा निस्कनै लाग्दा कार्यकर्ताहरूको साथबाट मतदाता शिक्षा सामग्री लुटेको शर्माले बताइन्।

‘हामी ४ जना थियौं २ जना अलि पछि थिए’, शर्माले भनिन्– ‘एक्कासि अगाडि आएर उहाँहरूले हामीलाई रोक्नुभो र झोलामा भएका सबै सामग्रीहरू नियन्त्रणमा लिनुभो।’ नियन्त्रणमा लिएका सबै सामग्री तत्काल च्यातेर फालिदिएको शर्माले बताइन्। ‘उहाँहरूसँग लाइटर रहेनछ जलाइदिने भन्दै हुनुहुन्थ्यो’, शर्माले भनिन्– ‘हाम्रा झोलाहरू भने सुरक्षित छन्, हामीलाई पनि केही गर्नु भएन।’ मतदाता शिक्षाका लागि गाउँमा आउनेहरूलाई अवरोध गर्ने योजना बनाएर बसेको ती व्यक्तिले बताएको शर्माले बताइन्।

निसीखोला–३ को याङम्याङनजिकै पुग्दा उनीहरूलाई बाटो छेकेर सबै सामग्री नियन्त्रणमा लिएका थिए। घटनाको विषयमा मतदाता शिक्षा कार्यकर्ताहरूले तत्कालै जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ‘उहाँहरूले जानकारी गराएलगत्तै हामीले सुरक्षा निकायलाई खबर गरेका छौं’, जिल्ला निर्वाचन अधिकारी विकाशचन्द्र शर्माले भने– ‘घटनाको विषयमा सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको छ।

घटनामा निसीखोलाकै लालबहादुर बुढा र सुन्दर बुढा संलग्न रहेको आशंका गरेको छ। उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङले बताए। उनीहरू निर्वाचनको विरोधमा रहेको विप्लव समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ।