भीमसेनले गरे एक करोडको जग्गा दान

0
Shares

नेपाल समाचारपत्र
पोखरा
पोखरा–१४ चाउथे निवासी भीमसेन तिमिल्सिनाले १ करोड रुपियाँभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन्। दृष्टिविहीन भई अपाङ्गता भएका तथा अनाथ दृष्टिविहीनहरूका लागि उनले जग्गा सहयोग गरेका हुन्। उनले पोखरा विजयपुरमा रहेको ५ आना २ पैसा क्षेत्रफलको जग्गा शनिबार नेत्रहीन संघ कास्कीलाई हस्तान्तरण गरेका हुन्।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको दोस्रो क्याबिनेट मिटिङका अवसरमा उनले दृष्टिविहीनको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जग्गा सहयोग गरेका हुन्। तिमिल्सिनाले धर्मपत्नी बन्दना र छोरा विराटको साथमा जग्गा दान गरेका हुन्। असाहाय बालबालिकाको शिक्षादीक्षा तथा उनीहरूलाई आत्मनिर्भर बनाउन जग्गा दान गरेको तिमिल्सिनाले बताए।

‘जग्गा दान गर्न पाउँदा निकै खुसी लागेको छ’ –उनले भने। दृष्टिविहीन बालबालिका तालिम लिँदा तथा कुनै सीप सिक्दा भुइँमा बसेको देखेर आफूहरू प्रभावित भएर उक्त सहयोग गरेको उनले बताए। लायन्स क्लब अफ पोखरा चौतारीका सदस्यसमेत रहेका उनले लायन्सबाट सामाजिक काम गर्ने प्रेरणा मिलेको बताए।

कास्की नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदीले प्राप्त जग्गा सहयोगलाई सदुपयोग गरी आश्रयस्थल बनाउने बताए।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको समन्वयमा जग्गा हस्तान्तरण गरिएको हो। डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले संघलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन्। ‘भीमसेन जस्ता सहयोगी मनहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याएका छन्’ –आचार्यले भने।