कार्यालय प्रमुखकै अगाडि महिलामाथि हातपात

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं ।
बलम्बुस्थित यातायात व्यवस्था कार्यालयमा मोटरसाइकलको ब्लुबुक नवीकरण गर्न गएकी एक महिलामाथि एक दलालले कार्यालयको हाताभित्रै आक्रमण गरेका छन्।
बैंकमा पैसा बुझाएर नवीकरणका लागि लाइनमा बसेकी शारदा पाण्डेलाई घच्याउँदै ब्लुबुक नवीकरण गराइदिने ठेक्का लिएर पैसा असुल्ने गरेका दलाल अगाडि बढ्न लागेपछि पाण्डेले त्यसको विरोध गर्नासाथ दलालले आक्रमण गरेको थियो।

कार्यालय हाताभित्रै ती महिलामाथि दलालले आक्रमण गर्दासमेत कार्यालयका कर्मचारीहरूले बेवास्ता गरेका कारण अक्रमणकारी भाग्न सफल भएको थियो। कार्यालयकै मिलोमतोमा दलालहरू सक्रिय भएको कारण पनि लाइनमा बसेकी ती महिलालाई लात्तीले हानेर लडाउँदा पनि कार्यालयका कर्मचारीले देखेर पनि नदेखेझंै गरेको सेवाग्राहीको आरोप छ।

हिमाल इन्सुरेन्सको ठेकदारी गर्ने अनिश राई नामको दलालले अक्रमण गरेपछि शारदासहितका अन्य महिलाले कार्यालयका प्रमुख गणेश अर्याललाई भेटी सीसी क्यामराको के मतलब भयो भनेर गुनासो गर्दा उनले कारबाही गर्ने वचनबद्धता व्यक्त गरेको बताइएको छ। कार्यालयकै मिलोमतोमा दलालीहरू इन्स्युरेन्स एवं नवीकरण छिटोभन्दा छिटो गरिदिने भन्दै सेवा लिन जानेहरूलाई मूलढोकादेखि नै पछि लाग्ने गर्छन्। दलालको आक्रमणबाट घाइते शारदालाई त्रिपुरेश्वर ब्लुक्रसमा उपचारका लागि लगिएको थियो।

शारदासहितका महिलाले कार्यालयका कर्मचारीले सजिलो गरी काम नगरिदिने तर, दलालीमार्फत चाँडो गरिदिने गरेका कारण पनि दलालीहरूको मनोबल बढ्ने गरेको भन्दै महिलाको समूहले कार्यालय प्रमुखसमक्ष गुनासो गर्दा कार्यालय प्रमुख अर्याल र अर्का अधिकारी अनिल खनाल नाजवाफ भएका थिए।