पेरिसडाँडामा थामिएन आँशु



मधुसूदन रायमाझी, काठमाडौं ।
प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुर्याएपछि नेता तथा कार्यकर्ता र आफन्तको घुइँचो लागेको थियो।

पेरिसडाँडामा माओवादी केन्द्रको केही समय आकस्मिक बैठक बसेको थियो। अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले श्रद्धाञ्जली कार्यक्रम शुरू गरेसँगै सबैको आँखा रसाउन थाले। सबैको नजर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि थियो।

शोकको पीडामा विक्षिप्त बन्नुभएका प्रचण्ड शुरूमा निकै सम्हालिएर पार्थिव शरीर अगाडि उभिनुभएको थियो। श्रद्धाञ्जली दिने क्रममा प्रकाशको अनुहार हेर्दासम्म भाववि≈वल हुनुभएका प्रचण्डले पार्टीको झण्डा ओढाएपछि आफूलाई सम्हाल्न सक्नुभएन र भक्कानिएर रुनुभएको थियो। निकै सम्हालिने कोशिस गर्दागर्दै पनि प्रचण्ड छोरा प्रकाशको निधनमा निकै शोकाकुल हुनुभएको थियो।

पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिन पुग्ने सबैको आँखामा आँशु देखिन्थ्यो। श्रद्धाञ्जली दिने क्रममा प्रकाशकी दिदी रेणु दाहालसँगै दिदी सीमा दाहाल सम्हालिन सक्नुभएन। भाइको शवमा टाँसिएर केहीबेर रोएपछि सीमालाई माओवादी नेताहरूले सम्हालेका थिए। श्रद्धाञ्जली दिन उपस्थित भएका माओवादीका सबै नेताहरूको आँखाबाट आँशु देखिएको थियो।
प्रचण्ड भक्कानिएर रोएपछि पार्टीका नेताहरूले प्रचण्डलाई सम्हाल्दै कार्यालयको माथिल्लो तलामा लगेका थिए। पेरिसडाँडामा प्रकाशकी आमा सीता दाहालको भने उपस्थिति थिएन। त्यसै गरी उहाँकी श्रीमतीद्वय सिर्जना त्रिपाठी र बिना मगर पनि बेहोस भएका कारण पेरिसडाँडामा गएका थिएनन्।

प्रकाशलाई श्रद्धाञ्जली दिन गोरखाको चुनावी अभियान छोडेर पेरिसडाँडा आइपुगेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र प्रचण्डले अँगालो हालेर रुनुभएको थियो। श्रद्धाञ्जली दिन पेरिसडाँडामा पुग्नुभएका भट्टराई शोकाकूल अवस्थामा देखिनुहुन्थ्यो।

अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा उपराष्ट्रपति नन्दकिशोर पुन, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य, माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, कृष्णबहादुर महरा, वर्षमान पुनलगायतको सहभागिता रहेको थियो। पेरिसडाँडामा उपस्थित सबैको आँखा रसाएका थिए।

प्रकाशलाई प्रचण्डले दिए दागबत्ती
आफ्नै निवास लाजिम्पाटमा अर्धचेत अवस्था फेला परेका प्रकाश दाहाललाई आइतबार बिहान नर्भिक अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो। २०३६ सालमा जन्मिएका प्रकाश २०५७ सालबाट पार्टीको पूर्णकालीन सदस्य हुँदै हाल पार्टीको पोलिटब्युरो सदस्य रहनुभएको थियो।

प्रकाश दाहाल प्रचण्ड र सीता दाहालका एक मात्र छोरा हुनुहुन्थ्यो। जनयुद्धका क्रममा पूर्णकालीन हुँदै राजनीतिमा सक्रिय हुनुभएको थियो। उहाँको खास नाम साकार दाहाल भए पनि उहाँ प्रकाश दाहालकै नामबाट परिचित हुनुहुन्थ्यो। २०५७ सालदेखि पूर्णकालीन हुँदै केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रचण्डको सचिवालयमा रहेर काम गर्नुभएको प्रकाशले प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा दुवै कार्यकालमा सचिवालयमा रहेर काम गर्नुभएको थियो।

पार्टीका प्रवक्ता पम्फा भुसालले जनयुद्धको कठिन र संघर्षका दिनहरूमा पनि कहिल्यै विचलित नभई पार्टीको जिम्मेवारीमा रहेर सक्रिय रहँदै आउनुभएका प्रकाशको अल्पायुमा नै भएको निधनले पार्टी र सिंगो आन्दोनललाई ठूलो क्षति पुगेको बताउनुभयो।
भुसालले भन्नुभयो– ‘पार्टीले एउटा जुझारु उदीयमान नेता र व्यवस्थापक गुमाएको छ।’ प्रकाशको दुई जना श्रीमती सृजना त्रिपाठी, विना मगर र दुई छोरा हुनुहुन्छ।

माओवादीे केन्द्रले पार्टी अध्यक्ष प्रचण्ड र पार्टीका सल्लाहकार सीता दाहालप्रति समवेदना व्यक्त गर्दै शोकमा सिंगो पार्टी अध्यक्षसँगै पूरै पार्टी पंक्ति शोकाकुल रहेको भन्दै गहिरो समवेदना व्यक्त गरेको छ।

जनयुद्धको समयदेखि नै पार्टीको राजनीतिमा निरन्तर रूपमा क्रियाशील रहँदै आउनुभएका प्रकाशको निधनले प्रचण्डलाई निकै ठूलो क्षति पुगेको छ। प्रचण्डको सचिवालयमा रहेर लामो समय काम गर्दै आउनुभएका प्रकाशले व्यक्तिगत रूपमा केही कमजोरीका बाबजुद पनि प्रचण्ड दुईपटकको प्रधानमन्त्री कार्यकाल सफल बनाउन स्वकीय सचिवको भूमिकामा रहेर प्रभावकारी भूमिका खेल्नुभएको थियो।

प्रकाश दाहाल प्रचण्डको सुरक्षा अंगका रूपमा लामो समय काम गर्नुभएको थियो। पछिल्लो चरणमा प्रकाशले व्यक्तिगत कमीकमजोरीलाई सच्याउँदै प्रचण्डलाई महत्वपूर्ण सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आउनुभएको थियो। छोरा मात्र नभई महत्वपूर्ण सहयोगीको निधनले प्रचण्डलाई अपूरणीय क्षति पुगेको छ। ३ वर्षअघि प्रचण्डले छोरीलाई गुमाउनुभएको थियो। पढ्ने लेख्ने उमेरमा नै प्रकाशले बन्दुक बोकेर बुबालाई साथ दिँदै जनयुद्धमा होमिनुभएको थियो। शान्ति प्रक्रियामा आएपछि निरन्तर कहिले प्रचण्डको ड्राइभर त कहिले स्वकीय सचिवको भूमिकामा क्रियाशील भएर प्रचण्डको कार्यकाल सफल बनाउन भूमिका निर्वाह गर्दै आउनुभएको थियो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ब्रिक्स तथा बिमस्टेक शिखर बैठकमा सहभागी हुन २०७३ असोज अन्तिम साता भारतको गोवा जानुभएको थियो। सोही क्रममा सम्मेलनस्थलबाट होटेलतर्फ फर्किन कारगेटको समय पर्खिंदै गर्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रचण्ड बसेको स्थानमा आइपुगेर भएको ३ नेताको वार्ताको तस्वीर प्रचण्डले सामाजिक सञ्जालमा राख्नुभएको थियो। जुन तस्वीरले निकै चर्चा पाएको थियो। प्रकाशले प्रचण्डले सम्बोधन गर्ने अधिकांश कार्यक्रमको फेसबुक लाइभ गर्नेदेखि सञ्चारमाध्यममा पठाउने गर्दै आउनुभएको थियो। जुन तस्वीर प्रकासले आफ्नो क्यामरामा कैद गर्नुभएको थियो।

प्रकाशले सर्वोच्च शिखर सगरमाथाको आरोहणसमेत गर्नुभएको थियो। हरेकजसो कार्यक्रममा भिड छिचोल्दै प्रकाश नै दायाँबायाँ हुँदै प्रचण्डलाई स्टेजमा पुर्याउने काममा भूमिका निर्वाह गर्नुहुन्थ्यो। तर आइतबार प्रचण्ड छोराको पार्थिव शरीर हेर्नका लागि सुरक्षाकर्मीको सहारा लिएर नर्भिक अस्पतालमा पुग्नुभएको थियो।

प्रकाशको पार्थिव शरीरमा बुबा प्रचण्डले हिन्दू परम्पराअनुसार कोट तथा जुत्ता खोलेर पार्थिव शरीरलाई तीनपटक घुमेपछि मात्रै दागबत्ती दिनुभएको थियो। दागबत्ती दिँदै गर्दा प्रचण्डले आफूलाई सम्हाल्न धेरै कोसिस गरे पनि सम्हालिन नसकेर भक्कानिएर रुनुभएको थियो।

प्रधानमन्त्री देउवा र ओलीद्वारा समवेदना व्यक्त
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले एक समवेदना सन्देश दिँदै प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको हो। विज्ञप्तिमा भनिएको छ– ‘प्रकाश दाहालको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रकाश दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले प्रचण्डका सुपुत्र, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनबाट आफ्नो पार्टी स्तब्ध भएको बताउनुभएको छ।

‘अकल्पनीय हृदयघात’

भगवती तिमिल्सिना, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको अकस्मात् हृदयघात (सडेन कार्डियाक अरेस्ट) भई आइतबार बिहान निधन भएको छ।

सधंै बिहान सबेरै उठ्ने प्रकाश बिहान साढे ५ बजेसम्म पनि नउठेपछि चिया लिएर जाने क्रममा सुरक्षाका लागि खटिएका २ जना सहयोगीले दाहाल सुतेको कोठामा गई हेर्दा अचेत अवस्थामा ओछ्यानमै भेटेपछि पारिवारिक सल्लाहअनुसार नर्भिक अस्पताल पुर्याएका थिए ।

अचेत अवस्थामा आइतबार बिहान ५ः५० बजे दुई सहयोगी र भान्जीका साथमा नर्भिक अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको अस्पताल स्रोतले जनाएको छ। अस्पताल पुग्नासाथ आकस्मिक कक्षका चिकित्सकहरू डा. रवीन्द्रप्रसाद यादव, डा. विमलेश श्रेष्ठ, नर्सिङ स्टाफ एवं स्वास्थ्य प्राविधिकको टोलीद्वारा चिकित्सा जाँच गर्दा उहाँ पूर्णतया बेहोस भइसक्नुभएको, हातगोडाका सबै भाग नीलो र कडा भइसकेको, शरीर पूरै चिसो भएको, श्वास–प्रश्वास पूर्णतया नरहेको, आँखाको नानी पूरै सुन्निएको तथा फुलेको, आँखामा टर्च लाइट पार्दा कुनै प्रतिक्रिया नआएको र ईसीजी गर्दा सोको नतिजामा मुटुको गतिविधि पूर्णतया शून्य पाइएको नर्भिकका कार्डियोलोजिस्ट डा. जेपी जैसवालले जानकारी गराउनुभयो।

उपचारमा संलग्न टोलीको ‘मोनिटरिङ’ गरिरहनुभएका डा. जैसवालसहितको चिकित्सक टोलीले उहाँलाई बिहान ५ः५९ बजे अस्पताल ल्याउनु पहिला नै मृत्यु भइसकेको घोषणा गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

के हो सडेन कार्डियाक अरेस्ट ?
चिकित्सा परिभाषामा सोच्तै नसोचेको अकस्मात् मुटुको चाल बन्द हुनुलाई ‘सडेन कार्डियाक अरेस्ट’ भनिन्छ। यस्तो अवस्थामा तत्काल रगत परिचालन बन्द भई दिमाग बन्द हुनुका साथै शरीरका अन्य अंग रोकिन्छ र मानिसको मृत्यु हुन्छ।

मुटु त्यस्तो महत्वपूर्ण अंग हो जुन मानिसको शरीरमा रगतको मात्रा मिलाएर प्रवाह गर्ने विद्युतीय साधन जस्तै हो।

‘यो नचल्नेबित्तिकै तत्काल केही मिनेटमै उपचार गर्न सके मात्र मानिसलाई बचाउन सकिन्छ नत्र मानिसको मृत्यु हुन्छ। मानिसमा यो समस्याको संकेतका रूपमा मुटुको चाल छिटोछिटो हुने या ढिलो हुने अथवा अनियमित हुने गर्दछ। यसका साथै मुटुको देब्रे भागमा सहनै नसक्ने खालको पीडा हुने, पछाडिको ढाड दुख्ने, दुवै हात चलाउनै नहुने गरी दुख्नेजस्ता संकेत देखा परेमा तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार अपनाएको खण्डमा उपचार गर्न सकिन्छ’ –डा. जैसवालले बताउनुभयो। उहाँले भन्नुभयो– ‘जाडोको समयमा हृदयाघात हुने बिरामीको संख्या अझै बढ्ने गर्दछ।’

शनिबार राति ८ बजेको समयमा आमा सीता दाहालले जाउलो बनाएर प्रकाशलाई खान दिनुभएको थियो। शुक्रबार बेलुकादेखि नै आफूलाई चुनावको थकानले हो वा ज्वरो आएर हो ज्यान गलेको महशुस भएको बताएका र शनिबार पनि असहजता व्यक्त गरेकै कारण जाउलो बनाएर आमाले खान दिएको पारिवारिक स्रोतले जनाएको छ।

कार्डियोलोजिस्ट डा. जैसवालका अनुसार स्वर्गीय दाहाल अस्पताल पुग्दा हातगोडा पूरै चिसो भइसकेको पल्स, ब्लडप्रेसर, तापक्रम, स्वासप्रस्वास, आँखा पूर्णरूपमा बन्द भई शून्य अवस्थामा रहेको थियो। दाहालको अवस्था हेर्दा अस्पताल पुर्याउनु ३÷४ घण्टाअघि नै मृत्यु भइसकेको अनुमान गर्न सकिन्थ्यो।

अस्पताल ल्याउने समिर श्रेष्ठसहित २ जना सुरक्षाकर्मी अन्य २ जना सहयोगी र १ जना महिला रहेका थिए। डा. जैसवाल प्रचण्ड परिवारको पारिवारिक चिकित्सकसमेत भएको र प्रकाशको एक वर्षअघि स्वास्थ्य परीक्षण गर्दा कुनै खालको समस्या नदेखिएको र प्रचण्ड र सीतामा भने मधुमेहको समस्या रहेको जैसवालले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो।

प्रकाशको मृत्युको खबर भाइरलझैं फैलिएलगत्तै नर्भिक अस्पताल बिहानैदेखि नेता, कार्यकर्ता, शुभचिन्तक, सञ्चारकर्मीले खचाखच भरिएको थियो। बिहानैदेखि अस्पतालको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो। चुनावी प्रचारका क्रममा झापा पुग्नुभएका प्रचण्ड सेनाको हेलिकोप्टरबाट काठमाडौ फर्किई सिधै श्रीमती सीता दाहाल मूच्र्छा भएको खबरले लाजिम्पाट पुगी सीतालाई सम्हाली उपचारको व्यवस्था मिलाएर मात्र अस्पताल पुग्नुभएको थियो।

सीताको लाजिम्पाटस्थित घरमै नर्भिक अस्पतालका चिकित्सक टोलीको सहयोगमा उपचार भइरहेको छ। उहाँ कहिले मूच्र्छा हुने र कहिले होसमा आउने भइरहेकाले स्लाइन दिएर घरमै उपचार गरिरहेको डा. जैसवालले बताउनुभयो।

उहाँको जेठी छोरीको पनि केही वर्षअघि क्यान्सरका कारण मृत्यु भइसकेको छ। नेता प्रचण्ड र सीताको तीन छोरी र एक छोरा थिए। अस्पतालमा केही समय अन्त्येष्टिका लागि चितवन लाने या पशुपति भन्ने विषयमा नेताका बीच गोप्य छलफलपछि पशुपतिमै गर्ने तय भएको थियो।

प्रतिक्रिया दिनुहोस्