जिम्बावेमा स्वतःस्फुर्त विजय जुलुस


हरारे, (एजेन्सी)
जिम्बावेका राष्ट्रपति रोवर्ट मुगावेको राजीनामाको माग राख्दै राजधानी हरारेका सडकमा निस्केका जुलुस खुसीयालीमा परिणत हुँदै गरेको छ। ती प्रदर्शनकारीले लामो समयदेखिको मुगावेको शासनको अन्त्यका लागि सेनाले निभाएका ेभूमिकाको प्रशंसा गर्दै सडकमा तैनाथ सेनालाई अँगालो मार्दै खुसीयालाी व्यक्त गरिरहेको बीबीसीका पत्रकारहरूले बताएका छन्।

उक्त स्वतःस्फुर्त निस्केको विजय र्यालीमा सरिक एक व्यक्तिले जिम्बावेमा नयाँ युगको शुरुआत भएको बताएको बीबीसीले जनाएको छ। सो र्यालीलाई सेना र सत्तारूढ जानु पीएफ पार्टीले पनि समर्थन गरेको छ। गत वर्षसम्म पनि मुगावेको पक्षमा उभिएका सम्मानित योद्धाहरूले पनि अहिले उनले पदबाट राजीनामा दिनुपर्ने बताउन थालेका छन्।

बीबीसीले मुगावे अब पुनः सत्तामा फर्कने सम्भावना निकै न्यून रहेको पनि बताएको छ। र्यालीमा सहभागी एकजनाले भनेका छन्– ‘जिम्बावेका नागरिकको हैसियतले हामीले राजनीतिमा शान्तिपूर्ण हस्तक्षेप गरेकोमा सेनालाई धन्यवाद दिन्छौं। मुगावे जानै पर्छ भन्ने हाम्रो मनसाय हो।’

अब उनको फिर्तीको प्रतीक्षा गरिन्नँ। हाम्रा लागि अब नयाँ शुरुआत हो। हाम्रा लागि अब तानाशाही शासनको अन्त्य भएको छ। बुधबार सेनाले सत्ता हातमा लिएयता ९३ वर्षीय मुगावे हरारेमा नजरबन्दी बनाइएका थिए। तर शुक्रबार उनी पहिलो पटक एउटा दीक्षान्त समारोहमा सार्वजनिक भएका थिए।

उनले आफू कुलपति रहेको विश्वविद्यालयमा दीक्षान्त समारोहको उद्घाटन सम्बन्धमा मात्र संक्षिप्त भाषण दिएका थिए। उनको साथमा प्रथम महिला ग्रेस मुगावे थिइनन्। शुरूमा उनी विदेश पलायन भइसकेको अनुमान गरिए पनि बिहीबार उनी मुगावेसँगै रहेको बताइएको थियो।

३७ वर्षदेखि सत्तामा रहेका मुगावेका उत्तराधिकारीलाई लिएर अन्योल बढेपछि सेनाले हस्तक्षेप गरेको हो। मुगावेले गत साता उपराष्ट्रपति इम्मर्सन नान्गावालाई बर्खास्त गरी आफूभन्दा चार दशक उमेरले कम पत्नी ग्रेसका लागि राजनीतिक निकास खोलेका थिए।