२२ हजार मुद्दा फैसला हुन बाँकी


प्रशान्त वली, काठमाडौं

सर्वोच्च अदालतमा अतिरिक्त समयमा इजलास सञ्चालन शुरू भएको छ। मंसिर १ गतेदेखि लागू हुने गरी अतिरिक्त समयमा समेत इजलास सञ्चालन शुरु गरिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो।

मुद्दाको फछ्र्र्यौट दरलाई कम गर्न अतिरिक्त समय थप गरिएको बताइएको छ। अब न्यायाधीशका लागि अदालतको कार्य समय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म र शुक्रबार बिहान १० देखि ४ बजेसम्म तोकिएको छ।

न्यायाधीशहरू बिहान साढे ९ बजे अदालत पुगिसक्नुपर्ने तथा उनीहरूका लागि साढे १० बजे इजलास तोकिएको छ। अदालतको कार्य समयका अतिरिक्त अन्य समयमा र अदालत बन्द रहने दिनमा समेत प्रधानन्यायाधीशले इजलास तोक्न सक्ने सर्वोच्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्चमा इजलास समय थपियो

विज्ञप्तिमा भनिएको छ– ‘विद्यमान मुद्दा फछ्र्यौटको स्थितिलाई मध्यनजर गर्दै छिटोछरितो न्याय सुनिश्चितताका लागि अतिरिक्त समयमा इजलास शुरू गरिएको हो।’

अहिले सर्वोच्चमा २२ हजार मुद्दा थन्किएका छन्। ती मुद्दाहरू फछ्र्यौट हुन समय लाग्ने देखिएपछि इजलास चाँडै गर्ने गरी समय तोकिएको छ। सर्वोच्चका प्रवक्ता पन्थीले भन्नुभयो– ‘खुर्सानी काट्दा पर्ने झगडादेखि सम्बन्ध बिच्छेद र घोटाला काण्डसम्मका उजुरीहरू अदालतमा आउँछन्। मुद्दाको संख्या घटाई फछ्र्यौट दर बढाउन प्रधानन्यायाधीशको निर्देशनमा समय थप गरिएको हो।’

सर्वोच्चमा एक जना प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश कार्यरत छन्। विगतमा मुद्दा संख्याका आधारमा अतिरिक्त न्यायाधीश थप गर्न पाउने व्यवस्था थियो। यस्तै, मंगलबार, बुधबार र शुक्रबारसमेत संवैधानिक इजलासबाट मुद्दाको सुनुवाइ गरिने व्यवस्था मिलाइएको छ। विगतमा प्रत्येक शुक्रबार मुद्दाको सुनुवाइ हँुदै आएको सर्वोच्चले बताएको छ।