कम्युनिस्टहरूले राष्ट्रियतालाई कमजोर बनाएको आरोप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिस्टहरूले नै गरेको बताउनुभएको छ।

नेपाली कांग्रेसको केन्द्रीय मिडिया सेन्टरद्वारा शुक्रबार ललितपुरमा आयोजित विचार निर्माता बुद्धिजीवीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले सो कुरा बताउनुभएको हो।‘राष्ट्रको एक भूभागमा बस्ने नागरिकलाई अपमानित गर्ने, उनीहरूलाई लाञ्छना लगाउने र विदेशीसँग जोडेर भड्काउदा राष्ट्र बलियो हुँदैन’, नेता खाँणले भन्नुभयो– ‘यस्तो भौगोलिक, जातीय, सांस्कृतिक र धार्मिक विविधता बोकेको मुलुकमा सबैलाई समेट्दा नै राष्ट्रियता बलियो हुन्छ।’ नेता खाँणले कम्युनिस्टहरूले जसरी अधिनायकवादी शासन आउने उद्घोष गरेका छन्, त्यो नै लोकतन्त्रका लागि चुनौती बनेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा प्राध्यापक केशवानन्द गिरीले कम्युनिस्टहरूको समाजवाद सम्पन्नलाई विपन्न बनाएर कायम हुने र कांग्रेसको लोकतान्त्रिक समाजवादले गरिबलाई सम्पन्न बनाएर समाजवाद कायम गर्ने पनि बताउनुभयो।

अर्का सहभागी डा.लोक भट्टराईले कम्युनिस्टहरूले ५० वर्ष शासन गर्ने जुन अभिष्ट सार्वजनिक गरेका छन्,त्यो नै
अधिनायकवादको जड भएको बताउनुभयो। उहाँले स्वतन्त्रताप्रेमी नेपाली जनता अधिनायकवादको पक्षमा जानै नसक्ने पनि बताउनुभयो। त्यस्तै प्राध्यापक डा. गोविन्दमान सिंह कार्कीले कम्युनिस्टहरूले साम्यवादको कुरा उठाएकोले यो चुनाव नेपाली कांग्रेसका लागि सहज भएको बताउनुभयो। पूर्व प्रशासक तथा लेखक जैनेन्द्र जीवनले नेपाली कांग्रेसले ल्याएका आर्थिक विकास र समृद्धिका विषय सान्दर्भिक भएको बताउनुभयो।

कार्यक्रममा डा. उद्धव प्याकुरेलले कम्युनिस्टहरूले आफ्नो बहुमत हुँदा पनि स्थिरता दिन नसकेको उल्लेख गर्दै भन्नुभयो– ‘पहिलो संविधानसभामा माओवादी बहुमतमा थियो तर प्रचण्डको सरकार ९ महिना टिकेन, प्रचण्डको विकल्पमा बाबुराम उदाए, माधव नेपालको विकल्पमा झलनाथ खनाल आए। ४ वटा प्रधानमन्त्री हुँदा समेत संविधान दिन सकेनन्।’

कार्यक्रममा पूर्वराजदूत डा. जयराज आचार्यले संविधानको प्रस्तावना फेर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा ल्याउने र ५० वर्ष शासन गर्ने कुरा ल्याएर अधिनायकवादतर्फ जाने उद्घोष गरेकोले लोकतन्त्रवादी र स्वतन्त्रताप्रेमी नेपालीहरूको मत अहिले नेपाली कांग्रेसमा आउने बताउनुभयो। कार्यक्रममा प्रखर बुद्धिजीवी तथा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, प्रा. देवकुमारी गुरुङ र प्राध्यापक पञ्चनारायण महर्जनलगायतले कम्युनिस्ट अधिनायकवादका विरुद्धमा जनमत सिर्जना गर्न कांग्रेसलाई सहज भएको बताउनुभएको थियो।

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियानलाई सहयोग पु¥याउँदै सञ्चारकर्मीहरूसमक्ष पार्टीका दस्तावेज र गतिविधिहरूलाई पु¥याउन केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत केन्द्रीय र प्रादेसिक मिडिया सेन्टरहरू सञ्चालनमा ल्याएको छ। केन्द्रीय मिडिया सेन्टरले विचार निर्माता र पत्रकारहरूका बीचमा संवाद गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो।