निर्वाचनमा सार्वजनिक बिदा दिन आग्रह



काठमाडौं, (नेस)
निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मङ्सिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मङ्सिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ।
मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारीहरू निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएको हुँदा सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिन आयोगले गृह मन्त्रालयलाई पत्र पठाई आग्रह गरेको हो।

यसै गरी, आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मङ्सिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मङ्सिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरूमा सार्वजनिक बिदा दिनसमेत सरकारसँग आग्रह गरेको छ।

निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने दिनभन्दा तीन दिनअगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसहरूमा दुवै चरणको निर्वाचनमा चार÷चार दिन बिदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्