डा. महतको ज्यान लिने प्रयास



शालिकराम चालिसे, नुवाकोट

नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेसका उम्मेदवार डा. रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ। विस्फोटनबाट पाँच जना कांग्रेस कार्यकर्ता घाइते भए पनि उम्मेदवार महतद्वय भने सकुशल हुनुहुन्छ।

चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका–५ काउलेथानामा बिहान १० बजे प्रेसर कुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिनुभयो।

बम विस्फोटनबाट कांग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राईलगायत घाइते भएका छन्। शरीरका विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ। घाइतेमध्ये भेषबहादुर तामाङलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लागिएको छ भने सविन लामा, उपेन्द्र मिश्र र रामकुमारलाई नेपाली सेनाको हेलिकप्टरबाट धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा लगिएको छ।

उम्मेदवार महतद्वय चढेको बा१४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो। विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो।

यसैबीच शुक्रबार ककनीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो। प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले आफूलाई वाम गठबन्धनका उम्मेदवारले नै बम प्रहार गरेको भन्ने अभिव्यक्ति दिएपछि झडप भएको थियो। झडपमा परी बा८८प ५२८० नम्बरको मोटरसाइकल तोडफोड गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्