विद्यार्थी यौन र मादक पदार्थको कुलतमा फस्दै

0
Shares

भगवती तिमल्सिना, काठमाडौं
विश्वका विकसित मुलुकले धेरै पहिलादेखि बालबालिकाको स्वास्थ्यमा ध्यान दिएर खानपान, रहनसहन, विद्यालयको वातावारण, शिक्षा, स्वास्थ्यमा ध्यान दिँदै आएका भए पनि नेपाललगायतका मुलुकमा भने बालबालिका कै लागि केन्द्रित भएर खासै खानेकुरा, स्वास्थ्य सेवा प्रवाह हुन सकेको पाइन्न।

यसै विषयमा स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली विद्यार्थीको विषयमा स्वास्थ्य सर्वेक्षण गरी हालैमात्र उक्त रिपोर्ट सार्वजनिक गरेको छ। उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ– ‘वयस्क अवस्थामा हानिकारक व्यवहार परिवर्तन गर्नु र रोगको निवारण तथा उपचार गर्नुभन्दा बाल्यकालदेखि नै स्वस्थ व्यवहार अपनाउनु धेरै सहज र प्रभावकारी हुन्छ।’

रिपोर्टमा भनिएको छ– ‘किशोर–किशोरी र युवाको स्वास्थ्य प्रवद्र्धनमा विद्यालयको विशेष भूमिका रहने गर्दछ। यी उमेर समूहका स्वास्थ्यको महत्त्वलाई मध्यनजर राख्नुपर्दछ भन्ने मान्यताका साथ नेपाललगायतका मुलुकले पनि पछिल्लो समय जोखिम व्यवहारको रोकथामका लागि केही कदम चालेका छन्।

यसै सन्दर्भमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सर्ने भन्दा नसर्ने रोगको दीर्घकालीन जोखिमलाई समेत किशोर–किशोरीमाझ कसरी प्रभावकारी बनाउन सकिन्छ भनी विद्यालयस्तरका कक्षा ७ देखि कक्षा ११ सम्मका विद्यार्थीका माझ गरेको सर्वे प्रभावकारी हुने विश्वास लिएको परिषद्का अध्यक्ष डा.अञ्जनीकुमार झा बताउनुहुन्छ।

सर्वेक्षण परिमाणात्मक विधि र क्रमरहित विधि अपनाइ ७४ वटा विद्यालयका कक्षा ७ देखि ११ का विद्यार्थीमाझ गरिएको थियो। सन् २०१५ मा गरिएको उक्त सर्वेक्षणमा मादक पदार्थ सेवन, सुर्तीजन्य पदार्थ तथा लागूपदार्थ प्रयोग, सरसफाई, मानसिक स्वास्थ्य, शारीरिक व्यायाम, यौन तथा प्रजनन स्वास्थ्य, एचआईभी, हिंसासम्बन्धी प्रश्न समावेश गरिएको र विद्यार्थीबाट आएका उत्तर र व्यवहारबाट ठोस निष्कर्ष निकालिएको डा.झा बताउनुहुन्छ।

सर्वेक्षणमा ६ हजार ५ सय २९ जना विद्यार्थीले भाग लिएका थिए। जसमा ५१ दशमलव ३ प्रतिशत छात्रा र ४८ दशमलव ७ प्रतिशत छात्र रहेका थिए। जसमा उमेर समूहको आधारमा विभाजन गर्दा ६४ दशमलव २ प्रतिशत किशोरकिशोरी १३ देखि १५ वर्ष उमेर समूहका थिए भने २१ दशमलव ५ प्रतिशत १६ देखि १७ वर्ष उमेर समूहका रहेका थिए।
यसमा ५ दशमलव ५ प्रतिशतले मादकपदार्थ (जाँड, रक्सी) सेवन गरेको पाइएको थियो। जसमा किशोर ७ दशमलव १ प्रतिशत र किशोरी ३ दशमलव ७ प्रतिशत रहेका थिए।

सर्वेक्षणमा सहभागीमध्ये मादक पदार्थ सेवन गर्नेमध्येका ७४ दशमलव ६ प्रतिशत किशोर–किशोरीले १४ वर्षको उमेर नहुँदैदेखि पहिलो पटक मादक पदार्थ सेवन गरिसकेको देखिएको रिपोर्टमा उल्लेख गरिएकोछ।
अझ डरलाग्दो र तत्काल सुधार गर्नुपर्ने पाटोका रूपमा देखा परेको अर्को अवस्था भनेको मानसिक स्वास्थ्य समस्या रहेको पनि सर्वेक्षणमा देखिएको छ। मानसिक स्वास्थ्यसम्बन्धी तथ्यांकले ६ दशमलव ६ प्रतिशत किशोर–किशोरीले विगत १२ महिनाको अवधिमा सधैंजसो एक्लोपना महसुस गरेको र कतिपयले आत्महत्या गर्ने सोच बनाई प्रयाससमेत गरेको पाइएकाले यसको समाधानका लागि तत्काल घरपरिवार र विद्यालयका तर्फबाट थप ध्यान दिनुका साथै स्वास्थ्य सुधारका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसरी विरक्तिएका ९ प्रतिशत किशोर किशोरीले सूर्तीजन्य पदार्थ पनि सेवन गरिसकेका पाइएको थियो। सर्वेक्षणमा सहभागी १० दशमलव ९ प्रतिशत किशोर किशोरीमा पोषणको कमी भएका कारण कम तौल भएको पाइएको जनाएको छ।

सहभागी किशोरकिशोरीले सर्वेक्षणका क्रममा राखिएका प्रश्नावलीका क्रममा १ महिनाअघि मात्र फलफूल खाएको उल्लेख गरेका थिए। सर्वेक्षणमा सहभागीमध्ये ४ प्रतिशतले खाना खानुभन्दा अघि कहिल्यै हात धुने नगरेको या विरलै मात्र धुने गरेको जनाएका थिए। यसका साथै ५० प्रतिशत किशोर–किशोरी सर्वेक्षणका अवधिमा शारीरिक रूपमा निष्क्रिय थिए।