मध्य मंसिरदेखि बाघ गणना हुँदै



 

टीका बन्धन, काठमाडौं
मुलुकका प्राकृतिक वासस्थानमा रहेका बाघको संख्या एकिन गर्न मध्य मंसिरदेखि औपचारिक रूपमा गणना शुरू हुने भएको छ। संरक्षित क्षेत्रका अतिरिक्त बाघको बासस्थान विस्तार हुनसक्ने क्षेत्रमा समेत अनुगमन हुने भएको छ।

मंसिर दोस्रो सातादेखि पर्सा राष्ट्रिय निकुञ्जबाट दुर्लभ जन्तुको गणना आरम्भ हुने र ३ महिनाका हाराहारीमा सो कार्य सम्पन्न हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। बाघ पाइने संरक्षित क्षेत्रलाई ३ खण्डमा विभाजन गरी गणना कार्य अघि बढाइने बताइएको छ। पर्सा–चितवन, बाँके–बर्दिया र शुक्लाफाँटा खण्डमा छुट्टाछुट्टै टोली खटिने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो।

‘गणना सजिलो र प्रभावकारी होस् भनेर क्षेत्र विभाजन गरिएको हो, आगामी ३ महिनाभित्र गणना कार्य सक्ने लक्ष्य लिएका छौं’, उहाँले भन्नुभयो– ‘बाघको सम्भावित बासस्थान विस्तार हुनसक्ने क्षेत्रमा समेत यसपटक अनुगमन हुनेछ।’

खड्काका अनुसार गणनाकार्यमा २ हजारका हाराहारीमा अत्याधुनिक क्यामेराको प्रयोग हुनेछ भने तालिम प्राप्त हात्ती र स्थलगत अवलोकनका लागि दक्ष एवम् अनुभवी गणक र नेपाली सेनाको टोलीसमेत खटिनेछन्।
गणनाका लागि ३ करोड रुपियाँको हाराहारीको बजेट खर्च हुने अनुमान गरिएको छ। यो अभियानलाई सफल र प्रभावकारी बनाउन राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) नेपाललगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण साझेदारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछन्।
गणनाको औपचारिक शुभारम्भअघि बाघको चहल–पहल हुने क्षेत्र आसपासमा अत्याधुनिक क्यामेरा जडान गरिनेछ। स्वचालित क्यामराले कैद गरेका बाघलगायत अन्य जीवजन्तुको तस्वीर, स्वरूप र संख्यालाई विश्लेषण गर्न सघाउ पुर्याउनेछ। एउटा क्यामेराले करिब २ किलोमिटर क्षेत्र समेट्नेछ भने गणकको एउटा समूहले आसपासको क्षेत्रको अवलोकनसँगै एक दिनमा करिब २० वटा क्यामेराको अवस्था र चित्र कैद भए⁄नभएको अनुगमन गर्नेछ। स्थलगतरूपमा खटिने नयाँ तथा पुराना गणकलाई लक्षित गरेर २⁄३ दिनको अनुशिक्षण कार्यक्रम तय गरिएको महानिर्देशक खड्काले बताउनुभयो।

नेपालले हरेक ४ वर्षको अन्तरमा बाघको गणना गर्दै आएको छ। यसअघि सन् २०१३ को गणनाअनुसार मुलुकका प्राकृतिक बासस्थानमा १ सय ९८ वयस्क बाघ फेला परेका थिए। सन् २००८ को गणनामा १ सय २१ वयस्क बाघ थिए। सन् २०२२ सम्म बाघको संख्या २ सय ५० भन्दा बढी पुर्याउने सरकारको राष्ट्रिय लक्ष्य छ। विगत केही वर्षयता बाघ, गैडालगायतका लोपोन्मुख जन्तुको संरक्षण र अवैध चोरी शिकार नियन्त्रण कार्यका लागि नेपाल–भारतबीच अन्तरसिमा सहयोग आदान–प्रदान कार्यक्रम अभ्यासमा छ।

सोही आधारले दुवैतर्फका संरक्षित क्षेत्रमा एकै साथ गणना कार्य शुरू हुँदै छ। दुवै मुलुकमा एउटै अवधिमा, एकै किसिमको प्रविधि र उस्तै शैलीमा गणना गरिने भएकाले बाघको संख्या यकिन गर्न सजिलो हुने डब्लुडब्लुएफ नेपालका एक वरिष्ठ संरक्षण अधिकृतले बताए।
२ महिनाअघि काठमाडौंमा सम्पन्न सीमा वारपार बैठकले अंग्रेजी महिनाको नोभेम्बरदेखि गणना शुरू गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार भारतले नेपालको सीमातर्फबाहेक अन्यत्रका संरक्षण क्षेत्रमा गणना शुरू गरिसकेको छ।

भारतले गणना शुरू गरेको अनौपचारिक खवर प्राप्त भएको वन्यजन्तु विभागका सूचना अधिकारी नारायण रूपाखेतीले बताउनुभयो। तर सीमावर्ती क्षेत्रको गणना कार्य भने एउटै समयमा शुरू हुने उहाँको भनाइ छ। चितवन र पर्सा निकुञ्जसँग भारतको वाल्मीकि टाइगर रिजर्ब जोडिएको छ भने बर्दिया राष्ट्रिय निकुञ्जसँग भारतको कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरी गाँसिएको छ। शुक्लाफाँटा निकुञ्जसँग भारतीय दुधुवा टाइगर रिजर्ब जोडिएको छ।

प्रतिक्रिया दिनुहोस्