माओवादी अध्यक्षसहित उम्मेदवारबाट आचारसंहिता पालना गर्ने प्रतिबद्धता



चितवन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना तर्फबाट निर्वाचन आचारसंहिताको पूर्णपालना गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन एवं आचारसंहितासम्बन्धी प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्यका उम्मेदवारसँग गरिएको अन्तक्र्रिया’ मा उहाँले आफ्नो र वाम गठबन्धनका तर्फबाट अन्य दल र उम्मेदवारसँग पनि सहकार्य गरिने प्रतिबद्धता जनाउनुभयो ।

चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले भन्नुभयो “मेरो तर्फबाट आचारसंहिताको पूर्णपालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” जिल्लामा दलका नेताका बीचमा सौहार्दपूर्ण सम्बन्ध रहँदैआएको र कुनै खालका अप्ठ्यारा नआउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनसफल बनाउन सबैले आचारसंहिता पूर्णरुपमा पालना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आचारसंहिताको अक्षरशः पालना गर्न सबै लाग्नुपर्छ ।” तत्कालीन समयमा खिलराज रेग्मी नेतृत्वको सरकारले गराएको जस्तो निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

चितवन क्षेत्र नं ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको सदस्यको उम्मेदवार रहनुभएका पाण्डेले सरकारी तबरबाट हुने आवश्यक सुरक्षा प्रबन्धप्रति निश्चिन्त हुन आग्रह गर्दै सबैको साथ र सहयोगबाट निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताउनुभयो ।

शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले आर्थिक हिसाबले आचारसंहिता उल्लंघन बढी हुने बताउँदै कडाइका साथ अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । चितवन क्षेत्र नं २ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अधिकारीले भरतपुर महानगरपालिका–२९ का वडा सचिवबाटै आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै तत्काल कारवाही गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा अन्य उम्मेदवारले पनि सुझाव दिनुभएको थियो । जिल्लाका तीन निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि ९८ उम्मेदवार छन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्मा र निर्वाचन अधिकृत शम्भुराज रेग्मीले निर्वाचन आचारसंहिता, व्यवस्थापन र प्रजिअ नारायणप्रसाद भट्टले निर्वाचन सुरक्षाका विषयमा प्रकाश पार्नुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्