शेरबहादुरको गीत सार्वजनिक

0
Shares

बलिउड फिल्म क्षेत्रमा समेत चर्चा कमाएका अभिनेता सुनील थापाले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म शेरबहादुरमा रहेको एकमात्र गीतको भिडियो रिलिज गरिएको छ। धिराज प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको गीति भिडियो मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरिएको हो।

कोशिस क्षत्रीको शब्द र संगीतमा रहेको कान्छा मट्याङ ट्याङ बोलको गीतमा कोशिस क्षत्री र चर्चित गीत ठमेल बजारकी गायिका मीना निरौलाको स्वर रहेको छ। उक्त भिडियोमा कर्मा, मेनुका निरौला र रवीन्द्र झालाई फिचरिङ गरिएको छ। फिल्मका निर्देशक आर राजवंशीले लामो समयको अन्तरालपछि आफूले राम्रो फिल्म निर्देशन गरेको दाबी गरेका छन्। उनले फिल्मको शीर्षक प्रधानमन्त्रीको नामसँग मिल्न गए पनि यसले प्रधानमन्त्रीको जीवनसँग मेल नखाने बताए। त्यस्तै कुशल छायाँकारका रूपमा स्थापित फिल्मका निर्माता गौरीशंकर धुँजुले फिल्मको सिनेमाटोग्राफी निर्देशन आफैंले गरेको हुनाले छायांकन अरूलाई गराएको प्रस्ट पारे। शेरबहादुरको भूमिकामा अभिनय गरेका अभिनेता सुनील थापाले राम्रो फिल्म बनेको चर्चा गरे।

गौरीशंकर धुँजुका साथमा धिराज राजवंशीले निर्माण गरेको फिल्मको कथा प्रमोद क्षत्रीले लेखेका हुन्। वसन्त श्रेष्ठको नृत्य निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको फिल्ममा कोशिस क्षत्रीको संगीत र शब्द रहेको छ। एक अवकाश प्राप्त आर्मीको कथामा आधारित फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन्। आगामी माघ १९ गते फिल्मको रिलिज मिति तोकिएको छ।