तामाङ फिल्म डीभीडीमा

0
Shares

भक्तपुर, (नेस)। तामाङ फिल्म म्लाङ प्वाँहार अर्थात् कालो अरिंगालको डीभीडी सार्वजनिक गरिएको छ। फिल्म निर्माण पक्षले रफत सञ्चार क्लबमा एक कार्यक्रमको आयोजना गरी उक्त डीभीडी सार्वजनिक गरेको हो।

जहाँ तामाङ, त्यहाँ तामाङ चलचित्र भन्ने अभियानका रूपमा फिल्मलाई डीभीडीमा ल्याउनुपरेको फिल्मका निर्माता बिकु थोकरले बताए। देशका १४ जिल्लाको ३५ ठाउँमा १० वर्षको बालकदेखि ७० वर्षको बूढाबूढीलाई एकैठाउँमा जम्मा गरेर प्रोजेक्टरमार्फत करिब १ लाख दर्शक बराबरको सहभागितामा फिल्मको विशेष शो गरिएको थियो। यो फिल्म केही महिनाभित्रै युटुवमार्फत देश–विदेशका नेपाली माझ लैजाने तयारी पनि भइरहेको निर्माता थोकरले जानकारी दिए। अभियानमा संकलन भएको करिब १५ लाखभन्दा बढी रकम शिक्षा, गुम्बा मठ–मन्दिर र स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा लगाइएको छ। अहिलेसम्म निर्माण भएका तामाङ फिल्ममध्ये उच्च प्रविधि र ठूलो लगानीमा निर्माण भएको यो पहिलो र उत्कृष्ट तामाङ फिल्म आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट टप ५ मा पर्न सफल भएको थियो। २५ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको फिल्ममा समाजका गरिब, निमुखा, विपन्न र उत्पीडनमा परेका वर्गमाथि पुँजीपतिवर्गले गरेको अन्याय, अत्याचार र शोषणविरुद्ध आवाज उठाएको छ। कार्यक्रममा लामागुरु लाक्पा दोर्जे तामाङले म्लाङ प्वाँहारको डीभीडी सार्वजनिक गर्दै आर्थिक अभावका कारण तामाङ फिल्म निर्माण हुन नसकेको अवस्थामा यो फिल्मले आर्थिक लाभ पनि गर्न सफल भएको बताए। फिल्ममा जगे लोप्चन, सुनीता लुङ्बा, बिकु थोकर, सृजना तामाङ, सुष्मा मुक्तान, सफल दोङलगायतका कलाकारले अभिनय गरेका छन्। थोकर फिल्म्स प्रालीको ब्यानरमा बनेको फिल्म शंकर मर्हजनले निर्देशन गरेका छन्। यसमा संगित बिशाल कल्ताङ र विशाल थिङ, रचनाकुमार श्याङ्बा, कथा रितुराज पार्खिन र नृत्य निर्देशन अजय श्याङ्तानले गरेका छन्।