पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी


 

नेपाल समाचारपत्र
ललितपुर
ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ।
औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लास्टिक उद्योगमा मंगलबार साँझ भीषण आगलागी भएको थियो।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी नरेन्द्र चन्दले दिनुभएको जानकारीअनुसार साँझ करिब साढे ६ बजेतिर आगलागी शुरू भएको थियो। उहाँका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको थियो।

आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगो निभाउन काठमाडौं उपत्यकाका सबै दमकल परिचालन गरिएको थियो। आगो नियन्त्रणभन्दा बाहिर गएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको विपत् व्यवस्थापनमा खटिएका टोलीलाई समेत आगलागी भएको ठाउँमा परिचालन गरिएको छ।

यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।