प्रधानमन्त्री देउवाको पश्चिम क्षेत्रको भ्रमण आजबाट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आजबाट पश्चिम नेपालको भ्रमण गर्नुहुने भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भ्रमणको बारेमा जानकारी दिनुभएको हो ।

संयोजक तथा केन्द्रीय सदस्य खाँणले दिनुभएको जानकारी अनुसार आज प्रधानमन्त्री नेपालगञ्ज प्रस्थान गर्नुहुनेछ । सोही दिन उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नुहुनेछ ।

प्रधानमन्त्री देउवा २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सो दिन उहाँले पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसंग भेटघाट गर्नुहुनेछ । आजनै प्रधानमन्त्रीले अन्य पार्टीका नेता,कार्यकर्तासंग सम्वाद गर्नुहुनेछ । सो दिन प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले धनगढीमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने राजनीतिकर्मीहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्रीले आज सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसंग क्षेत्रको शान्ति,सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ । ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डँडेलधुरा पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले गृहजिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिदै आमसभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई संबोधन गर्ने कार्यक्रम छ ।

मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ्ग र बाजुराका आमसभाहरुलाई संबोधन गर्नुहुनेछ । जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसंग जानकारी लिनुका अतिरिक्त नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री त्यसपछि रुकुम,रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई संबोधन गर्न पनि जाने कार्यक्रम रहेको छ तर दिन भने निर्धारित भएको छैन ।

८० सीट जित्ने दावी
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन कमिटिका संयोजक समेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले निर्वाचनको प्रचार अभियान प्रारम्भ भएपछि विपक्षी दलहरुको तुलनामा नेपाली कांग्रेसको स्थिति झन सुदृढ हुँदै गएको बताउनुभएको छ ।
उहाँले पहिले ८० सीट जित्ने दावी गरिएकोमा त्यसमा केही थपिने स्थिति रहेको बताउनुभयो ।

उहाँँले प्रधानमन्त्री तथा पार्टी सभापतिले २५ गते ताप्लेजुङ्गबाट आरम्भ गर्नुभएको चुनावी अभियानको निकै राम्रो प्रभाव परेको पनि बताउनुभयो । “चुनावी परिचालन र सभापतिको भ्रमण पछि जनताको समर्थन बढेर आएको छ ” नेता खाँणले भन्नुभयो ।

नेता खाँणले प्रधानमन्त्रीको प्रचार अभियानले स्थानीय जनताका समस्याहरुको संबोधनलाई सहज बनाएको र मतदातासंगको साक्षात्कारले पार्टीप्रतिको विश्वास अभिबृद्धि हुन गएको पनि दावी गर्नुभयो । उहाँले संविधानको रक्षा, नागरिक अधिकारको रक्षा, स्थानीय विकास, कृषि प्रविधि र आधुनिकीकरण,धार्मिक स्वतन्त्रता र पर्यटन विकासका बारेमा नेपाली कांग्रेसको धारणा स्पष्ट पार्न ती सभाहरु अत्यन्तै फलदायी भएको जिकीर गर्नुभयो ।

ताप्लेजुङ्गमा अलैची खेतिको अनुसन्धान र बजार विस्तारको लागि केन्द्र स्थापना गर्ने पाँचथरमा किराँत धार्मिक गुरु फाल्गुणानन्दको तपोभूमिलाई व्यवस्थित तवरले विकास गरी संसारभर कीर्ति फैलाउन विकास समिति गठन गर्न नेपाली कांग्रेसले प्रतिबद्धता व्यक्त गरेको पनि बताउनुभयो । उहाँले स्थानीय र रणनीतिक सडकहरुको स्तरोन्नति, पर्यटकीय र धार्मिक स्थलहरुको संरक्षण र सम्बर्धनका विषयलाई पनि नेपाली कांग्रेसले गम्भीरतापूर्वक समाधान गर्ने वचनबद्धता व्यक्त गरेको पनि बताउनुभयो ।