एटीएमबाट पैसा चोर्ने पक्राउ

0
Shares

 

काठमाडौं, (नेस)
अनधिकृतरूपमा एटीएम कार्डको प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच नेकिटलाई पक्राउ गरेको हो।

अपरिचित पुरुषले ठमेललगायतका विभिन्न स्थानमा रहेका बैंकका एटीएमबाट अनधिकृतरूपमा रकम निकाल्न प्रयास गरिरहेको तथा नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारीस्थित एटीएममा स्किमर जडान गरेको भनी हुलियासहितको सूचना प्राप्त भएपछि ब्यूरोबाट खटिएको टोलीले खोजी अगाडि बढाएको थियो। खोजीको क्रममा प्रहरीले काठमाडौंका सम्भावित न्युरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटीलगायतका स्थानमा जडान गरिएका एटीएममा गोप्य निगरानी जारी राखेको थियो। निगरानी गर्दै जाँदा ठमेल, नरसिंहचोकस्थित होटल डिस्कभरीबाट बुल्गेरियन नागरिक नेकिटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेकिटको कोठाबाट १८ थान एटीएम कार्ड, ग्लोबल आईएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटीएमबाट रकम निकालेको कागज, विद्युतीय उपकरण खोल्न प्रयोग हुने विभिन्न प्रकारका ५ थान औजार प्रहरीले बरामद गरेको छ।

प्रहरीले विदेशी नागरिकविरुद्ध गरिएको कारबाहीमा हालसम्म ४ जना रोमानियन, ४ जना टर्किस, ४ जना बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय गरी जम्मा १८ जना विदेशी नागरिक पक्राउ गरिसकेको छ। निजहरूबाट हालसम्म ८८ लाख ६८ हजार ८ सय ५० नेपाली रुपियाँ, ७३ हजार ५ सय ८० अमेरिकी डलर, ६४ हजार १ सय ७५ युरो र विभिन्न बैंकका १ हजार ३ सय २६ थान एटीएम कार्ड बरामद गरिसकेको छ।