अलिबाबाद्वारा सिंगल्स डेमा २५ अर्बको बिक्री गरी नयाँ कीर्तिमान



बेइजिङ, (एजेन्सी)
चीनको सबैभन्दा ठूलो तथा लोकप्रिय अनलाइन व्यापारी अलिबाबाले एकल पुरुष र महिलाका नाममा मनाइने दिवस ‘सिंगल्स ड’को एकै दिनमा २५ अर्बको उत्पादन बिक्री गरेर नयाँ कीर्तिमान बनाएको छ। अलिबाबाले उपहार किनेर मनाइने नोभेम्बर ११ शनिबारको दिन करिब २५ अर्ब ४० करोड डलरको सामान अनलाइन बिक्री गरेको छ। यो गत वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो।

विश्वकै दोस्रो ठूलो ई–कमर्स कम्पनी अलिबाबाले यसअघि सोही दिनको बिक्रीबाट बनाएको आफ्नै कीर्तिमान तोडेको हो। चीनमा प्रत्येक वर्ष नोभेम्बर ११ मा युवाहरू सिंगल भएको खुसियाली मनाउँछन्। सन् २००९ मा अलिबाबाले यो दिनमा अनलाइन सेल बिक्रीको शुरूआत गरेका थिए। अलिबाबाका उपप्रमुख जोसफ तासाइले भने– ‘बिक्री भएका ९० प्रतिशत सामानको माग चिनियाँ मोबाइल प्रयोगकर्ताहरू हुन् र उनीहरूले बिक्री शुरु भएपछि कम्तिमा १ पटक सपिङ गरे।’

शनिबारको दिन पहिलो १ घण्टामा भएको बिक्रीले नै फ्पिकार्ट र अमेजनले गर्ने ५ दिनको कीर्तिमान तोडेको थियो। भारतको इ–बजारको ७० प्रतिशत फ्पिकार्ट र अमेजनको कब्जा रहेको छ। दिपावलीमा ती दुबैले ३ देखि ५ दिनको सेल सुविधा दिएका थिए। यो आँकडा सन् २०१६ मा ८२ प्रतिशत र सन् २०१५ मा ६९ प्रतिशत थियो।

उक्त दिनको शुरूको १ घण्टामा ३ लाख २५ हजार अर्डर आएको थियो। अलिबाबाले सिंगल्स डे सेलका लागि १ लाख ४० ब्रान्डका १५ लाख सामान सूचीकृत गरिएको थियो। एपल, सामसुङ, नाइकी, जारालगायत ६० अन्तर्राष्ट्रिय ब्रान्डका डेढ–डेढ करोडका सामान बिक्री भएको बताइएको छ।

यो वर्ष सिंगल्स डेको पहिलो ३० मिनेटमै ७ अर्ब डलरको सामान बिक्री भएर सबैभन्दा तीव्र शुरूआतको कीर्तिमान कायम गर्यो। अलिबाबाले गत वर्षको १८ अर्बको कीर्तिमान बिक्रीलाई यो वर्ष मात्र १२ घण्टामा उछिन्यो।

चीनको सबैभन्दा ठूलो ई–कमर्स फर्मका रूपमा आधिपत्य जमाइरहेको अलिबाबालाई यो पटक अर्को दोस्रो ठूलो कम्पनीले प्रतिस्पर्धा गरेको देखिएको छ। जेडीडट कमले नोभेम्बर ११ मा भएको आफ्नो बिक्री पहिलोपटक सार्वजनिक गरेको छ। उसले अलिबाबाको ई–कमर्स साम्राज्यलाई धक्का दिँदै यो वर्ष १९ अर्ब १४ करोड डलरको सामान बिक्री गरेको छ। तर यो सिंगल्स डेका अवसरमा नोभेम्बर १ देखि १२ सम्म गरेको बिक्री हो। अलिबाबाको जस्तो नोभेम्बर ११ एकै दिनमा गरेको बिक्री होइन।

प्रतिक्रिया दिनुहोस्