कुम्भकर्ण निद्राबाट व्युँझिँदै महानगर



ईश्वरराज ढकाल, काठमाडौं
स्थानीय तहका कर्मचारी आएपछि काठमाडौं महानगरपालिकाको विकास हुन नसकेको आरोप खेपिरहेको महानगर कुम्भकर्ण निद्राबाट व्यँुझिए जस्तै भएको छ। जताततै फोहोरको डंगुर, अलपत्र फुटपाथ, लथालिङ होडिङ बोर्ड, तारैतारको जालो, बाटोभरि निर्माण सामग्रीको डंगुर, मनपरी पार्किङ, सडकमा जताततै खाल्डाखुल्डी अस्तव्यस्त बन्दै गएको महानगर क्षेत्र अहिले व्यवस्थित हुँदै जान थालेको छ।

कामपाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मालगायतको टोली दैनिकजस्तो अनुगमनमा हिँड्न थालेपछि महानगरको वातावरणमा केही परिवर्तन हुन थालेको हो। पछिल्लो समयमा महानगरपालिकाको स्वामित्वमा रहेको बाटोको खाल्डाखुल्डी पुर्ने काम थालिएको छ। सरोकारवालाको सहयोगमा बिजुलीको तार व्यवस्थापन हुन थालेको छ। अधिकांश स्थानको होर्डिङबोर्ड हटाइएको छ। पार्क व्यवस्थित हुन थालेको छ। ‘विस्तारै महानगरबासीलाई देखिने गरी विकासका काम गर्दै जानेछौं’ –मेयर शाक्यले भन्नुभयो।

‘वर्षात्को समयमा हुन नसकेको बाटो विस्तारको काम शुरू गरेका छौं, टुँडिखेल वरपरका करिब आधा दर्जन आइल्यान्ड निर्माण गरेका छौं, बाटो विस्तारका लागि आवश्यक पर्ने बजेट तयारी गरिसकेको छौं’, उहाँले भन्नुभयो– ‘म मेयरमा विजयी भएदेखि नै म र समग्र कामपाका कर्मचारीको आलोचना हुने काम भयो, अब त्यस्तो हुन दिँदैनौं।’

कामपाले खाल्डाखुल्डी पुर्न र बाटो विस्तार गर्न करिब ८० करोड बजेट विनियोजन गरिसकेको छ। सबै वडाको बाटो विस्तारको काम द्रुत गतिमा भइरहेको छ। ‘हामीले अब काष्ठमण्डप, रानीपोखरी, धरहरा, रत्नपार्कको भ्यु टावर निर्माणकार्यलाई तत्काल अघि बढाउने निर्णय गरेका छौं’ –मेयर शाक्यले भन्नुभयो। ‘अब महानगर क्षेत्रका बाटो निर्माण र भत्काउँदा अनिवार्यरूपमा कामपासँग सहमति लिनुपर्ने व्यवस्था गरेका छौं, सम्पूर्ण ट्राफिक लाइट मर्मत गरेर सञ्चालन गर्ने विषयमा सहमति भएको छ।

ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीसँग छलफल गरेका छौं’ –अधिकृत शर्माले भन्नुभयो। ‘कामपाले अहिले काम नगरेको होइन, व्यवस्थितरूपमा काम गर्दै जाँदा केही समस्या भएको हो, अब केही दिनमै समाधान हुनेछ’ –उहाँले भन्नुभयो।

कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले बिहान ६ बजेभित्रै राजधानीको फोहोर उठाउने काम गर्दै आएको जानकारी गराउँदै भन्नुभयो– ‘फोहोर उठाउने मात्र नभई बाटोमा पानीले सफा गर्ने, फुटपाथको फोहोर उठाउने, धूलो सफा गर्ने, सबै आइल्यान्ड पानीले पखाल्ने, आइल्यान्डमा फूल रोप्नेलगायतका काम भइरहेको छ।’

मेयर शाक्यले अन्य निकायले महानगरभित्र कुनै पनि काम गर्दा अनिवार्यरूपमा महानगरलाई जानकारी दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको जानकारी दिँदै भन्नुभयो– ‘अब बाटो खनेर अलपत्र पार्ने, जथाभावी ढल खन्ने, पेटी बिगार्नेलगायतका अशोभनीय काम गर्ने जुनसुकै निकायलाई कारबाही गर्नेछौं।’

एक साताअघिदेखि निर्माण शुरू गरी सम्पन्न भएका ६ वटा आइल्यान्डको मेयर शाक्य, उपमेयर खड्गी, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वातावरण विभाग प्रमुख श्रेष्ठ, महानगरका प्रहरी प्रमुख विष्णुराज जोशीलगायतका टोलीले स्थलगत भ्रमण गरेका छन्।

आइतबार बिहान निर्माण सम्पन्न भएका आइल्यान्डको अवलोकन गर्दै मेयर शाक्यले खाली भएका सबै स्थानमा सुन्दर आइल्यान्ड निर्माण गर्न निर्देशन दिनुभएको छ। निर्देशनपछि वातावरण व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले कामपाले थप २५ स्थानमा आइल्यान्ड बनाउने जानकारी दिनुभयो।

कामपाले एक साताअघि सुन्धारा, न्युरोड गेट, जमल, रत्नपार्कलगायत स्थानमा ६ वटा आइयान्ड निर्माण सम्पन्न गरेको छ। मेयर र उपमेयरसहितको टोलीले सम्पूर्ण आइल्यान्डको अवलोकन गर्नुभएको थियो।

सो क्रममा मेयर शाक्यले आइल्यान्ड निर्माण गर्दा सकेसम्म फूल रोप्न निर्देशन दिनुभएको थियो। ‘आइल्यान्डमा बसेर बटुवाले घाम ताप्ने र बदाम खाने ठाउँ नबनोस्, यसलाई व्यवस्थित आइल्यान्डका रूपमा प्रयोग गरियोस्’ –अवलोकन भ्रमणपछि पत्रकारसँग कुराकानी गर्दै मेयर शाक्यले भन्नुभयो। उहाँले सुन्दर, सफा र हराभरा महानगरपालिकाको पहिचान दिन सबैलाई आग्रह गर्नुभएको थियो। कार्यक्रममा वातावरण व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले सबै आइल्यान्डलाई व्यवस्थित र सुन्दर बनाउने बताउनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्