मुख्यमन्त्री र केन्द्रीय मन्त्री लमजुङबाटै



बीपी साह, लमजुङ
पहिलो चरणको निर्वाचन हुने लमजुङमा चुनावी प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। यहाँ दुई पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। प्रतिनिधिसभाको एक सिट र प्रदेश सभाको दुई सिटमा वाम गठबन्धन र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री देव गुरुङलाई उम्मेदवार बनाइएको छ। मनाङ घर भएका गुरुङलाई लमजुङबाट उम्मेदवार बनाउँदा गठबन्धनभित्र विवाद देखिए पनि गुरुङ बाहुल्य जिल्ला भएकाले देव गुरुङ बलियो उम्मेदवारका रूपमा देखिएका छन्।

त्यस्तै, कांग्रेसले सार्वजनिक लेखा समितिका निवर्तमान सभापति दिलबहादुर घर्तीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। व्यक्तिगतरूपमा घर्ती कमजोर देखिए पनि स्थानीयस्तरमा कांग्रेसको बलियो पकडका कारण बलियो उम्मेदवार मानिँदै छ।

लमजुङमा प्रदेशसभाका दुई वटा सिटमध्ये ‘क’ मा कांग्रेसबाट गर्जबहादुर गुरुङ उम्मेदवार छन् भने वाम गठबन्धनको तर्फबाट धनञ्जय दवाडीलाई उम्मेदवार बनाइएको छ। गर्जबहादुर जिल्लाकै धनी व्यक्तिमध्येका एक हुन्। आर्थिकरूपमा सम्पन्न गुरुङले चुनावी प्रचार–प्रसारमा निकै खर्च गरेका छन्।

उनको प्रतिद्वन्द्वी दवाडी आर्थिकरूपमा कमजोर भएकाले उनको व्यक्तिगत प्रचार–प्रसार खासै देखिएको छैन। उनी पूर्वशिक्षक भएकाले स्थानीयस्तरमा पकड भएको मानिन्छ। प्रदेशसभाको ‘ख’ मा कांग्रेसबाट कृष्णप्रसाद कोइराला उम्मेदवार बनेका छन् भने वाम गठबन्धनबाट पृथ्वी सुब्बा गुरुङलाई उम्मेदवार बनाइएको छ।

खसहरूको निर्णायक मत मानिएको यस क्षेत्रबाट कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको हो। कोइराला जिल्ला पार्टी सभापति भइसकेका र स्थानीयस्तरमा रहेर काम गरेकाले बलियो उम्मेदवारका रूपमा मानिएको छ।

यता वाम गठबन्धनका उम्मेवार पृथ्वी सुब्बा गुरुङको आदिवासी जनजातिमा राम्रो पकड रहेको मानिन्छ। गुरुङ जनजाति आन्दोलनका अगुवा नेता भएकाले जनजातिले मत दिनेमा उनी विश्वस्त छन्।
लमजुङमा चुनाव प्रचार–प्रसारमा वाम गठबन्धनले रोचक नारा लगाउने गरेका छन्। उनीहरूले मुख्यमन्त्री पनि लमजुङकै केन्द्रीय मन्त्री पनि लमजुङकै भन्ने नारालाई जोड दिएका छन्।

वाम गठबन्धनले पृथ्वी सुब्बा गुरुङलाई ४ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीको रूपमा प्रचार गर्दै छ भने देव गुरुङलाई केन्द्रीय मन्त्रीका रूपमा प्रचार–प्रसार गर्दै छ। वाम गठबन्धनले चुनाव जितेको खण्डमा मुख्यमन्त्री र केन्द्रीय मन्त्री जिल्लाबाटै हुने कुरालाई जोड दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्