अनुराधा कांग्रेस प्रवेश



 

काठमाडौं, (नेस)
‘सीएनएन हिरो’ बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गर्नुभएको हो।

चेलीबेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गर्नुभएको हो।

‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’, कोइरालाले पार्टी प्रवेशपछि भन्नुभयो– ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ।’

कोइरालाले लोकतन्त्रबाहेकको अरू कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताउँदै लोकतन्त्रलाई थप मजबुत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आह्वान गर्नुभएको छ। ‘म सबैमा लोकतन्त्रलाई स्वीकार गरी सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपील गर्दछु –कोइरालाले भन्नुभयो।

सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएकी कोइराला अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाति, मधेसीलगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउनुहुन्छ।

‘अब जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार कांग्रेसको नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ’, उहाँले भन्नुभयो– ‘त्यसैले संविधान कार्यान्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्