प्रकाश पन्त, बीरेन्द्रनगर
सुर्खेतबाट प्रहरीले ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री बरामद गरेको छ। विशेष सुराकीका आधारमा ध१ज १०६ नम्बरको जीप चेकजाँच गर्दा ६० थान डेटोनेटर, ५ सय ५५ थान जिलेटिन, २२ मिटर फ्युजवायर बरामद गरेको सुर्खेतका प्रहरी प्रमुख एसपी मोहनआचार्यले बताउनुभयो।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुंगेबजारबाट शुक्रबार बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्युजवायर तारलगायत बरामद गरेको प्रहरीले जनाएको छ। बम बनाउन प्रयोग गरिने सामग्रीसँगै भारतीय र नेपाली सिमसहितको मोबाइल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जानकारी दिएको छ।
विष्फोटक सामग्री ल्याउने व्यक्तिको खोजी भइरहेको पनि एसपी आचार्यले जानकारी दिनुभयो। प्रहरीले विष्फोटक सामग्री भारतबाट कैलाली हुँदै ल्याएको हुनसक्ने भन्दै निर्वाचनलाई प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामग्री भारतबाट ल्याएको हुनसक्ने उहाँले उल्लेख गर्नुभयो।
विष्फोटक सामग्रीसँगै सिमसहितको मोवाइल बरामद भएकाले अनुसन्धान गर्न सहज हुने भन्दै उहाँले मोबाइलको कल डिटेल निकालेर अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। प्रहरीले एकसाता अघि सुर्खेतकै भेरीगंगा नगरपालिकाको छिन्चुबाट बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्रीसहित एक पूर्वलडाकूलाई पक्राउ गरेको थियो। जाजरकोट लैजान लागिएको चार थान डेटोनेटर, सेप्टीफ्युज, पाँच वटा विद्युतीय स्वीच, होल्डर, हत्कडी र एक लाख २५ हजार नगदसहित पूर्वमाओवादी लडाकू दलबहादुर कामी पक्राउ परेका थिए।
चुनावको मुखैमा ठूलो परिमाणमा विस्फोटक सामग्री बरामद हुनथालेपछि प्रहरीले सार्वजनिक सवारी साधनको चेकिङ बढाउनुका साथै शंकास्पद ठाउँमा सादा पोसाकमा प्रहरी खटाउन थालेको छ।
प्रतिक्रिया