पोखराकी आरती मिस टुरिजम

0
Shares

पोखराकी आरती थापाले मिस टुरिजम २०१७ को उपाधि चुमेकी छिन्। शुक्रबार सम्पन्न प्रतियोगितामा नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसूदन आचार्यद्वारा सोधिएको ‘अबको १० वर्षपछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ’ भन्ने प्रश्नको सटिक जवाफ दिएर आरतीले ५० हजार रुपियाँसहित मिस टुरिजम २०१७ को उपाधि चुमेकी हुन्। उनले प्रमुख उपाधिसँगै मिस पब्लिक च्वाइसको उपाधिलाई पनि आफ्नो बनाइन्।

प्रतियोगितामा काठमाडौंकी क्रिस्टिना श्रेष्ठले मिस पर्सनालिटी र मिस स्माइलसहित फस्ट रनर्सअप तथा एन्जी लामाले मिस फिगर र मिस फोटोजेनिकसहित सेकेन्ड रनर्सअपको उपाधि जिते। उनीहरुलाई पुरस्कारबापत क्रमशः नगद ३० र २० हजार रुपियाँ प्रदान गरिएको छ। प्रतियोगितामा पल्लवी सुवाल मिस वाक, रोमा खड्का मिस डिसिप्लिन, सुजाता लामा मिस इन्टिलिजेन्ट, रोशनी गौतम मिस ट्यालेन्ट र युना राई मिस फ्रेन्डसिपको विजेता भए। प्रतियोगितामा नाट्टाका अध्यक्ष मधुसूदन आचार्य, भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा, टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्वमहासचिव सागर पाण्डे, नेपाल योग एसोसियसनका महासचिव राजन सिंखडा, पूर्वमिस नेपाल सुगारिका केसी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ र पर्यटनविद् लेखनाथ भण्डारी निर्णायक रहेका थिए।