कन्हैयाको आलाप सार्वजनिक

0
Shares

 

गायक कन्हैया सिंहको आधुनिक गीति अडियो एल्बम आलाप–३ सार्वजनिक भएको छ। प्रमुख आतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विक, चलचित्र पत्रकार एवं साहित्यकार शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठ, गीतकार डीआर, गायक कन्हैया सिंह एवं टीका गोपाल डिजिटल एम क्रियसनकी व्यवस्थापक गीता सिंहलगायतले एल्बम सार्वजनिक गरेका हुन्। म्युजिक खबर डटकमको आयोजनामा भएको कार्यक्रममा गायक सिंहले अरूले घरको तला थपे पनि आफूले संगीतको तला थपेको दाबी गरे। संगीतकार सन्तोष श्रेष्ठले गायक सिंह अमेरिका रहेर पनि नेपाली गीत–संगीतमा निरन्तर लगानी गर्ने गायकमा पर्ने चर्चा गरे भने शान्तिप्रियले एल्बमभित्रका गीतको समीक्षा गरे।
त्यसै गरी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले गायक सिंहले घरको तला नथपे पनि संगीतको तला थपिरहेको देख्दा निकै खुसी लागेको बताए। कार्यक्रम गीतकार एवं पत्रकार सुमन बैरागीले सञ्चालन गरेका थिए। एल्बमभित्र वारे वा, मरी लानु, धेरै माया, भन्दै होलान् र मुटुमा पीडा जस्ता ५ गीत संगृहित छन्। यी गीतमा डीआर, सुमन बैरागी र विनोद रोकाको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ। मरी लानु बोलको गीतमा भने गायक कन्हैया सिंहको शब्द र संगीत रहेको छ। कार्यक्रममा वारे वा र मरी लानु बोलको गीतको म्युजिक भिडियोसमेत देखाइएको थियो। भिडियो विकास घले गुरुङले निर्देशन गरेका छन्।