राष्ट्रपति भण्डारी यूएई जाँदै



 

काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारी भोलि सोमबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा जानुहुने भएको छ। यूएईका राजकुमार शेख मोहम्मद विन अल जाहेद नाहिदको औपचारिक निमन्त्रणामा उहाँ त्यता प्रस्थान गर्न लाग्नुभएको हो।

राष्ट्रपति भण्डारी र राजकुमार शेखबीच मंगलबार आबुधावीमा औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल–यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भएको अवसरमा हुने राष्ट्रपतिको यो भ्रमणले द्विपक्षीय सम्बन्ध अझ निकट बन्ने अपेक्षा गरिएको छ।

नेपालमा सो मुलुकको लगानी भित्रइउन मद्दत पुग्ने परराष्ट्रका अधिकारीको दाबी छ। तर परराष्ट्रमन्त्रीको अनुपस्थिति र सो मुलुकका लागि नेपाली राजदूत रिक्त रहेको अवस्थामा हुने यो भ्रमण औपचारिकतामा मात्रै सीमित बन्ने कूटनीतिक क्षेत्रका जानकारहरूको टिप्पणी छ। सो भ्रमण टोलीमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपति भण्डारीका विदेश मामिला विज्ञ डा. मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपति भण्डारीकी छोरी निशा कुसुमलगायतका अधिकारी संलग्न रहने बताइएको छ।

राष्ट्रपति भण्डारी बिहीबार स्वदेश फर्कने कार्यतालिका तय भएको परराष्ट्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्