पूर्वप्रधानमन्त्री विष्टको निधन



काठमाडौं, (नेस)
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार बिहान साढे १० निधन भएको छ। निष्ठावान् राजनीतिज्ञको छवि बनाउनुभएका विष्टको ९० वर्षको उमेरमा ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको थियो।

विगत केही समयदेखि पूर्वप्रधानमन्त्री विष्ट अस्वस्थ हुँदै आउनुभएको यियो। तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद्का उपाध्यक्ष हुनुभएका विष्ट आफ्नो जीवनकालमा विवादमा नआउने व्यक्तिका रूपमा चिनिँदै आउनुभएको थियो।

राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको संगतबाट राजनीतिमा सरिक हुनुभएका विष्टले नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा शुरू गर्दै जहानियाँ राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्नुभएको थियो। विसं २०३० मा सिंहदरबार आगलागी हँुदा नैतिकताको कारण राजीनामा दिई नेपालको इतिहासमा चर्चित हुनुभएका विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुआत गर्नुभएको थियो।

विसं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहनुका साथै सोही पार्टीबाट उहाँ विसं २०१५ फागुनमा काठमाडौं–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएको थियो।

विष्ट प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत पक्राउ पर्नुभएको थियो। राजा महेन्द्रको शासनकालमा उहाँ पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो। दुईपटक राजा वीरेन्द्रको सरकारका प्रमुख हुनुभएका विष्ट राजा ज्ञानेन्द्रका पालामा तुलसी गिरीपछि दोस्रो वरीयताका मन्त्रिपरिषद् उपाध्यक्ष हुनुभएको थियो। विष्ट पहिलोपटक ०२५ सालमा प्रधानमन्त्री हुनुभएको थियो। ०२८ सालमा दोस्रोपल्ट प्रधानमन्त्री हुनुभएको विष्ट पुनः ०३४ सालमा तेस्रोपल्ट प्रधानमन्त्री हुनुभएको थियो।

विष्टको इच्छाअनुसार नै उहाँलाई राजकीय सम्मानबिना नै शनिबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। विष्टले अन्तिम इच्छा नै महाप्रस्थानमा राजकीय सम्मान नदिनु भन्ने रहेकाले उहाँको इच्छाअनुसार नै अन्त्येष्टि गरिएको परिवारका एक सदस्यले जानकारी दिए।

आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्रपा अध्यक्ष कमल थापालगायत पुग्नुभएको थियो। नैतिकवान् नेताको छवि बनाएका कारण विष्ट धेरैको मन जित्न सफल हुनुभएको थियो। ०४६ सालमा नेपालमा प्रजातन्त्र आएपछि उहाँले लामो समय नै निष्क्रिय राजनीतिक जीवन बिताउनुभएको थियो। तर ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि उहाँ मन्त्रिपरिषद्को उपाध्यक्ष हुनुभएको थियो।
उहाँ प्रधानमन्त्री हुँदा विसं २००८ देखि नेपालमा बस्दै आएको भारतीय सैन्य फौजलाई १८ वर्षपछि फर्काउन सफल भएकाले उहाँ राष्ट्रवादी प्रधानमन्त्रीका रूपमा चिनिँदै आउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्