घरभाडा नतिरेको भन्दै पूर्वराष्ट्रपति रामवरणमाथि अपमान !



नेपाल समाचारपत्र, काठमाडौ ।
घर भाडाका विषयमा पटकपटक समस्यामा पर्दै आएका गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव पुनः समस्यामा परेका छन्। सरकारसँग सम्झौता गरी यादवलाई घर भाडामा उपलव्ध गराउँदै आएका ललितपुर महानगरपालिका ४, बागडोलका रविभक्त बिष्टले सम्झौता नवीकरण नभएको भन्दै १५ दिनभित्र घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्।

विष्टले पूर्वराष्ट्रपति यादवका नाममा घर खाली गराउने सूचना बिहीबार सार्वजनिक एक सञ्चार माध्यममा प्रकाशित भएको छ । घर बाहल सम्झौता नवीकरण नगरी जवर्जस्ती रुपमा विजुलीको विल समेत भुक्तानी नगरेको घरधनी विष्ट दाबी छ।

विष्टले विद्युत महसुल र भाडा भुक्तानी गरी सूचना जानकारी पाएको १५ दिनभित्र घर खाली गर्न सूचनामा भनेका छन्। सूचना अनुसार काम कारबाही अघि नबढे कानुनअनुसार अघि बढ्ने चेतावनी पनि बिष्टले सूचनामा दिएका छन्।

सूचनाअनुसार चालु आर्थिक वर्षको साउनदेखि घर भाडा सम्झौता नवीकरण भएको छैन। यस विषयमा राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई आफूले पटक–पटक जानकारी गराएको पनि उनले सूचनामा उल्लेख गरेका छन्।

सरकारले पूर्व विशिष्ठ व्यक्तिलाई सरकारी आवास दिने गरी कानुनी व्यवस्था गर्न प्रयत्न गरेको लामो समय भयो। हालै कार्यकाल समाप्त भएको व्यवस्थापिका संसद्मा पूर्व विशिष्ठ पदाधिकारीलाई सेवा सुविधा दिने गरी विधेयक पारितको तयारी भए पनि अन्तिम समयमा रोकियो।

संविधान जारी भएपछि पूर्व राष्ट्रपति यादव उक्त घरमा बस्दै आएका छन्। सानेपाको आफ्नो घर छोरीको नाममा हक हस्तान्तरण गरेका यादव सरकारी सुविधाको उक्त आवासमा २०७२ असोजबाट बस्न सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्