अख्तियारको हातमा ठूला माछा, पूर्व प्रहरी प्रमुखसँगै दलका नेताहरु पनि फस्न सक्ने !



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दुई पूर्व उच्च अधिकारीमाथि सम्पत्ति छानबिन गरेर अख्तियारे आफ्नो सक्रियता देखाएको हो । अख्तियारले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री र नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको हो । यसैगरी केही पूर्व सचिवसँग पनि अख्तियारले बयान लिएको छ ।

विद्युत प्राधिकरणको ट्रान्स्र्फमर खरिद प्रकरणमा अख्तियार दुरुपयोग दुरुपयोग आयोगले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग बयान लिएको हो । उनीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेको निर्णयका आधारमा अख्तियारले तीन जनासँग बयान लिएको हो ।

बयानका लागि बोलाइएका क्षत्रीले हालै मुख्यसचिवबाट अवकास पाएका थिए भने कार्की बहालवाला सचिव हुन् ।अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि पनि छानविन थालेको छ । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको हो । अख्तियारले अर्याललाई सम्पत्ति विवरण (१३ पन्ने) भराइसकेको छ । अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए ।

अख्तियारले बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको बताइएको छ । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको छ । अख्तियारले छानविनको दायरामा विभिन्न दलका नेताहरुलाई पनि ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्