राजनको उम्मेदवारीले गगन थापा आत्तीए, यस्तो छ क्षेत्र नम्बर ४ को चुनावी गणित

0
Shares

काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देशैभरका चर्चित क्षेत्र मध्ये काठमाडौं ४ एउटा हो । नेकपा एमालेका युवा नेता डा. राजन भट्टराई बाम गठबन्धनका तर्फबाट र कांग्रेसबाट युवा नेता गगन थापा कांग्रेस–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेकाले यो क्षेत्र चर्चामा रहेको छ।

यस अघि गगन थापाको कब्जामा रहेको यस क्षेत्रमा यस पटक भने राजन भट्टराईको उम्मेदवारीले थापा तनावमा छन् । यस अघिको गगन चार्म कपनको बाटो र मेलम्चिको पानी प्रकरणले देखाएको छ । मेलम्चि खानेपानी कपनमा राजन भट्टराईको कब्जामा आउने संकेत देखिएको छ ।

एमाले उम्मेदवार डा. राजन भट्टराई २०७० सालमा सरकारद्वारा मनोनित सांसदको रुपमा संविधानसभा प्रवेश गरे । यसपल्ट भने नेकपा एमालेबाट सर्वसम्मत रुपमा उनको उम्मेदवारी सिफारिस भएबाट उक्त क्षेत्रको एमाले संगठनमा उनको लोकप्रियता देखिन्छ । सांसद रहंदा चार वर्षसम्म सांसद विकास कोषको रकम उक्त क्षेत्रकै विकास निर्माणमा खर्चेका भट्टराईलाई वाम गठबन्धनको समर्थन छ ।

डा भट्टराई र गगन दुवैको राष्ट्रिय ब्यक्तित्व बनेको छ । दुवै उम्मेदवार स्थानीय समेत भएकाले यसपटकको प्रतिस्पर्धा कौतुहलपूर्ण बनेको हो ।

कांग्रेसका गल्तीमा गगनको दोहोरो मापदण्ड

विगतका वर्षमा कांग्रेसले एकपछि अर्को गल्ती गर्यो । ती गल्तीको प्रतिरक्षा जस्तै तार्किक ब्यक्तिबाट पनि सम्भव थिएन । अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की विरुद्ध एमाले र माओवादीले महाभियोग प्रस्ताव ल्याउँदा गगनले त्यसको प्रत्यक्ष समर्थन गर्न सकेनन् । तर, महाभियोगका पक्षमा संसदमा लामो भाषण भने दिए । एकातिर कांग्रेस केन्द्रीय समितिमा धनराज गुरुङहरुले महाभियोगको पक्षमा बोल्दा गगन चुप लागे भने अर्कोतिर सार्वजनिक खपतका लागि मिडियामा लोकमानको विरोध गरे । फलतः कांग्रेस पार्टी लोकमानवारे मौन रह्यो । लोकमानलाई हटाउन सर्वोच्च अदालतले नै हस्तक्षेप गर्नु पर्ने अवस्था आयो ।

गगनको अर्को दोहोरो मापदण्ड कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग लगाउँदा देखियो । सिटौला समुहका भए पनि पछिल्लो समय प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर देउवाको निकट रहन सफल हुनेमा गगन पर्छन् । त्यसैले पार्टी भित्र उनले न्यायपालिका प्रमुख विरुद्ध ल्याइएको महाभियोगको विरोध गर्न सकेनन् । यद्यपि सर्वोच्च अदालत आफैंले महाभियोग असफल बनाएपछि महाभियोग गलत थियो भनेर गगनले मिडियामा बयान दिए ।

डा गोविन्द केसीको अनसनबारे पनि गगनको दोहोरो मापदण्ड देखियो । आफू सरकारमा नभएको बेला केसीको आन्दोलनका आयोजक जस्तै बनेर देखिने तर, मन्त्री हुँदा तिनै माग बेवास्ता गरेको आरोप गगनमाथि लाग्यो । यो उनको दोहोरो मापदण्डकै कारण थियो । मन्त्रीबाट हटेपछि डा केसीको आन्दोलनले साझा विवेकशील पार्टीलाई राजनीतिक माइलेज मिल्ने देखेर फेरि गगन त्यसको स्वामित्व लिन अघि सरे ।

एमाले उम्मेदवार डा भट्टराईलाई भने हरेक मुद्दामा उनको दलले लिएका स्पष्ट अडानका कारण यस्तो अप्ठ्यारो आइलागेन । कांग्रेसका गल्ती गगनका टाउकामा पनि भारी भए ।

क्षेत्र नम्बर ४ को चुनावी गणित

०७० सालको निर्वाचनमा धेरै तटस्थ मत गगन थापाले पाए । तर, स्थानीय निर्वाचनमा आइपुग्दा उक्त क्षेत्रको चुनावी गणित पूरै बदलिएको छ । राष्ट्रिय जीवनमा योगदान गरेका डा भट्टराई एमाले उम्मेदवार भएकाले यसपल्ट तटस्थ मत पनि बाँडिने पक्का छ । काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् ।

यो क्षेत्रमा ०७० को चुनावमा कांग्रेसका युवा नेता गगनकुमार थापा भारी मतअन्तरले विजयी भएका थिए । थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका निर्मल कुइकेल ९ हजार १३५ र माओवादीका नन्दबहादुर पुनले ६ हजार ४६२ मत ल्याएका थिए ।गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रअन्तर्गत पर्ने वडाको नतिजाअनुसार कांग्रेसले महानगरको वडा नं ८ र ३० बाहेक अरु जित्न सकेन ।

यो क्षेत्रमा अहिले एमाले–माओवादी गठबन्धनको पक्षमा २१ हजार १४८ मत छ भने कांग्रेस–राप्रपाको पक्षमा १५ हजार ३४५ मत छ । यो क्षेत्रबाट विवेकशील–साझा पार्टीले २६ वर्षकी सुबुना बस्नेतलाई अघि सारेका कारण कति स्वतन्त्र भोट उनले तान्न सक्छिन् भन्ने तथ्यले हार जित निक्र्योल गर्ने देखिन्छ ।