सिखर्पाका युवाले थाले प्लाष्टिक मुक्त गाउँ बनाउने अभियान


नेपाल समाचारपत्र, ललितपुर ।
गोदावरी नगरपालिका वडा नं. ६ सिखर्पाका युवाहरुले गाउँलाई प्लाष्टिक मुक्त पार्ने अभियान थालेका छन् ।

स्थानीय युवाहरुको सहभागितामा शनिबार बृहत सरसफाई कार्यक्रमको आयोजना गर्दै सो अभियान थालेका हुन् ।

सिखर्पा सामुदायिक स्टार युवा क्लबको अगुवाईमा भएको उक्त अभियान प्लाष्टिक मुक्त गाउँ घोषणा गर्दै गाउँलाई सफा र स्वच्छ बनाउने उद्देश्यले गरिएको क्लबका अध्यक्ष राजेश विकले बताउनुभयो ।

क्लबका अध्यक्ष विकका अनुसार गाउँलाई २ वर्षभित्र प्लाष्टिक मुक्त पार्ने योजना छ । योजना अनुसार निरन्तर यो अभियान संचालन हुने उहाँको भनाई छ ।

नगरकोटीहरुको विशेष बाहुल्यता रहेको सिखर्पामा क्लबले अभियान अन्तर्गत रहेर फोहोर नगरौँ, घर आँगन सफा राखौँ लगायतका सन्देश मुलक सामाग्रीहरु पनि स्थानीयलाई बाँडेको थियो ।

सो अभियान अन्तर्गतको सरसफाई कार्यक्रममा गोदावरी नगरपालिकाका नगरकार्यपालिका सदस्य मोहन नगरकोटी पनि सहभागि हुनुभएको थियो ।

यस अभियानमा जिज्ञासु केटौली बाल क्लब, टिकाभैरब बुदो कैदो, लेले सामुदायिक विकास केन्द्र, नागरिक आवाज, लकश नेपालको पनि सहभागिता थियो ।