टिकट नदिएपछि रातारात पार्टी परिवर्तन

14
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट नदिएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव र जिल्ला अध्यक्षसहित आधा दर्जनभन्दा बढी नेताले पार्टी परित्याग गर्दै अन्य दल र स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन्।

राजपाका महासचिव शिव पटेलले पार्टी परित्याग गरी प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रूपमा पर्साको क्षेत्र २ (ख) मा उम्मेदवारी दिएका छन्। यस्तै राजपाकै अर्का महामन्त्री महम्मद कदम रसुलले पनि पार्टी परित्याग गर्दै नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र १ मा उम्मेदवारी दिएका हुन्। यस्तै चुनावै पिच्छे दल परिवर्तन गर्ने नेताका रूपमा परिचित वीरगन्जका पूर्वमेयर विमल श्रीवास्तवले पनि प्रतिनिधिसभा सदस्यका लागि पर्सा २ मा फोरम नेपालका तर्फबाट बिहीबार उम्मेदवारी दर्ता गराएका छन्।

स्थानीय तहको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट वीरगन्ज महानगरको मेयरमा चुनाव लडेका श्रीवास्तव पराजित भएपछि गत शुक्रबार उनी फोरम नेपालमा प्रवेश गरेका थिए। स्थानीय तह निर्वाचनमा अघि राजपाको महामन्त्री रहेका श्रीवास्तवलाई पार्टीले टिकट नदिएपछि मनोनयनको एक दिन अघि राजपा परित्याग गरी लोकतान्त्रिक फोरममा प्रवेश गरी उनले वीरगन्जको मेयरमा उम्मेदवारी दिएका थिए।

पञ्चायत काल र बहुदलीय व्यवस्थामा गरी राप्रपा र स्वतन्त्रबाट चार पटकसम्म वीरगन्जको मेयर भइसकेका श्रीवास्तव, लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएपछि गत शुक्रबार फोरम नेपालमा प्रवेश गरेका थिए।
पार्टीले टिकट नदिएपछि राजपाका जिल्ला अध्यक्ष मण्डलका सदस्य इमदाद गद्दीले पनि पार्टी परित्याग गरी नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि पर्साको क्षेत्र नम्बर ४ मा बिहीबार मनोनयन दर्ता गराएका छन्।

राजपाकै महिला मञ्चकी जिल्ला अध्यक्ष अनिता रौनियारलाई पार्टीले टिकट नदिएपछि उनले नेकपा मालेका तर्फबाट प्रदेशसभा सदस्यका लागि पर्साको क्षेत्र नम्बर १ (ख) मा उम्मेदवारी दर्ता गराएकी छन्। राजपाको जिल्ला कार्य समितिले प्रदेशसभा सदस्यका लागि रौनियारको नाम सिफारिस गरे पनि राजपाको केन्द्रीय कार्य समितिले अन्तिम समयमा उनको नाम उम्मेदवारको सूचीबाट हटाएपछि उनले मालेका तर्फबाट बिहीबार मनोनयन दर्ता गराएकी हुन्।

यस्तै राजपाको वीरगन्ज कार्यसमितिका अध्यक्ष ओमप्रकाश सर्राफले पनि बिहीबार पार्टी परित्याग गर्दै प्रदेशसभा सदस्यका लागि पर्साको क्षेत्र नम्बर १ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको नाम पनि राजपाको जिल्ला कार्य समितिले केन्द्रिय कार्य समितिमा सिफारिस गरेको थियो।

फोरम नेपालका नेता विन्ध्याञ्चल ठाकुरले पनि प्रदेशसभा सदस्यका लागि पर्साको क्षेत्र नम्बर ३ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। फोरम नेपालकै अर्का नेता शम्भु गुप्तालाई पनि अन्तिम समयमा पार्टीले टिकट नदिएपछि उनी बिहीबार बिहान नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले बिहीबार अपरान्ह निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदेशसभा सदस्यका लागि वाम गठबन्धनका तर्फबाट पर्साको क्षेत्र नम्बर १ को ‘ख’ मा मनोनयन दर्ता गराएका हुन्।

जिल्ला कार्य समितिले प्रदेशसभा सदस्यका लागि आफ्नो नाम सिफारिस गरेको भएपनि केन्द्रीय कार्यसमितिले टिकट नदिएपछि शीर्ष नेतृत्वलाई व्यङग्य प्रहार गर्न राजपाका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मीले बिहीबार बिहान वीरगन्जमा ५ किलो लड्डु सर्वसाधारण र आफ्ना समर्थकलाई बाँडेका थिए। स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकताहरूले कुनै पनि हातलमा उम्मेदवारी फिर्ता नलिने बताएका छन्। पार्टीले अपमान गरेका कारण उम्मेदवारी फिर्ता लिने सम्भावना नै नभएको राजपाका महामन्त्री शिव पटेलले बताए।

टिकट वितरणमा जिल्लास्थित मुख्य पार्टीमा पनि असन्तोष देखिएको छ। वाम गठबन्धनभित्र पनि विवाद रहेको पाइएको छ। माओवादी केन्द्रका युवा नेताहरू बालकृष्ण श्रेष्ठ, प्रभु यादवलगायतका नेताहरूले हिजोको जनयुद्धका समयमा त्याग र यातनासमेत खेपेकालाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले पार्टीका केही नेताले पैसा लिएर नै टिकट दिएको भन्दै आफ्नो सामाजिक सञ्जालमार्फत चर्को असहमति जनाएका छन्।

खासगरी केही महिनाअगाडि मात्रै माओवादीमा प्रवेश गरेका रहबर अन्सारीलाई वीरगन्जको मेयर पद दिनु र सो पदमा उनी असफल भए पनि फेरि उनलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएपछि भने माआवादी पर्सामा ब्यापक असन्तुष्टि देखिएको हो।