ड्युटीमा बसेका हवल्दारसहित ४ को मृत्यु

0
Shares

भक्तपुर, (नेस)
भक्तपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्। धादिङ बैरेनी घर भई हाल सोही ठाउँ बस्ने शम्भु खत्री सूर्यविनायक नगरपालिका–८ जगातीमा अचेत अवस्थामा फेला परेका थिए। भक्तपुर अस्पतालका चिकित्सकले खत्रीको मृत्यु भइसकेको घोषणा गरेको थियो। बिहीबार बिहान ओखलढुंगा घर भई हाल सूर्यविनायक नगरपालिका–३,बालकोट बस्ने सरिता सार्की कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको हुँदा मध्यपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

उता सूर्यविनायक नगरपालिका भातेढिकुरस्थित होटल भ्यूमा लेवर काम गर्ने र होटलको छाप्रोमा बस्ने उदयपुर त्रियुगा नगरपालिका–१६ का नवराज राई मृत अवस्थामा फेला परेका छन् ।प्रहरी वृत्त जगातीले अनुसन्धान कार्य शुरू गरेको छ।
यता भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात मृत्यु भएको छ। कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो। उनी ढलेलगत्तै गट्ठाघरस्थित नागरिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

वीरगन्जको पर्सा निवासी राउतको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।