वाम गठबन्धनको चुनावी तालमेल, उम्मेदवार छनोटमा जालझेल



मधुसूदन रायमाझी, काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र टिकट वितरणमा नातावाद र पैसावाललाई दिएको भन्दै असन्तुष्टि चुलिएको छ।

१ सय ६५ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रले टिकट वितरणमा विधि र पार्टी पद्धतिलाई बेवास्ता गरेको भन्दै नेतृत्वप्रति तीव्र असन्तुष्टि देखिएको छ। दुवै पार्टीले टिकट वितरण गर्दा नातावाद र पैसावाल रोजेको भन्दै कार्यकर्ता रुष्ट भएका छन्।

पार्टीमा निरन्तर रूपमा लामो समय काम गरेका, जेल जीवन बिताएका, सशस्त्र द्वन्द्वको समयमा योगदान गरेका व्यक्तिलाई भन्दा पनि नेताहरूको मनोमानी ढंगले टिकट वितरण भएको भन्दै पार्टी केन्द्रदेखि स्थानीय तहसम्म नै असन्तुष्टि देखिएको छ। टिकट वितरणमा नेताहरूले भेदभाव गरेको भन्दै मनोनयन दर्ताका क्रममा बागी उम्मेदवारी दिए पनि कारबाही गर्ने चेनावनीपछि नेताहरू उम्मेदवारी फिर्ता लिन बाध्य भएका छन्।

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै एमाले र माओवादीबाटै आफ्ना नेताविरुद्ध बागी उम्मेदवारी दिएका नेताले पार्टीको दबाबमा उम्मेवारी फिर्ता लिएका थिए। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहीबार भएको मनोनयन दर्ताका क्रममा पनि वाम गठबन्धनभित्र दर्जनौं बागी उम्मेदवारी परेको छ।

तर पार्टी नेतृत्वले उम्मेवारी फिर्ता लिन दबाब दिन शुरू गरिसकेको छ। ‘बागी नउठौं नेतृत्वले गरेको अन्याय सहनुपर्ने, उम्मेदवारी फिर्ता नलिऔं अहिलेसम्म गरेको राजनीति नै धर्म संकटमा पर्ने खतरा छ’, एक बागी उम्मेदवारले भने– ‘पार्टीमा विधि र पद्धतिभन्दा पनि नातावाद र पैसावालको बिगबिगी भयो यो अन्याय सहन निकै गाह्रो भो।’

एमाले र माओवादीका नेताहरूले टिकट वितरण गर्दा पार्टीमा योगदान गरेका योग्य र क्षमतावान् युवा नेताहरूलाई विभेद गरेको आरोप लागेको छ। दुवै पार्टीमा आफन्तलाई टिकट वितरण गर्दा प्राथमिकता दिएको आरोप लागेको छ। नेकपा एमालेले समानुपातिकको बन्दसूचीमा समावेश गरिएका उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ भने माओवादी केन्द्रले अझै समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरिएका उम्मेदवारको नाम सार्वजनिक गरेको छैन।

संविधानले कल्पना गरेको समाजवाद व्यवस्था ल्याउनका लागि दुई कम्युनिस्ट पार्टी मिलेर वामपन्थी गठबन्धन निर्माण गर्दै निर्वाचनमा चुनावी तालमेल गरेका छन्। दुई दलबीच चुनावी तालमेलसँगै आगामी दिनमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने सहमति गरेर अगाडि बढेका छन्। गठबन्धन बनाएका दुवै दलले आफ्ना नातेदारलाई टिकट वितरण गरेको भन्दै नेतृत्वको आलोचना गरेका छन।

टिकट वितरणमा नेताहरूले पार्टीमा योगदान गरेको आधारमा भन्दा पनि आफ्ना श्रीमती, भाइ, बहिनीलाई रोज्दा दुवै पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ। वामपन्थी गठबन्धन बनाउन भूमिका खेल्नुभएका एमालेका उपाध्यक्ष वामदेव गौतम बर्दिया क्षेत्र १ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको छ भने उहाँको श्रीमती तुलसी थापालाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको छ। एमालेका नेता शंकर पोखरेल ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदारसहित दाङबाट प्रदेशसभाका लागि उम्मेदवारी दिनुभएको छ भने उहाँकी श्रीमती सुजिता शाक्यलाई समानुपातिकतर्फको उम्मेदवार बनाइएको छ।

नेता रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बन्नुभएको छ भने उहाँको श्रीमती जुली महतो केन्द्रका लागि समानुपातिक सूचीमा रहनुभएको छ। एमालेको निर्वाचन आयोग प्रमुख सोमनाथ प्यासी समानुपातिको सूचीमा रहनुभएको छ भने उहाँकै बहिनी प्रभा कोइराला पनि समानुपातिक सूचीमा पर्न सफल हुनुभएको छ। एमालेका नेता सुवास नेम्वाङ इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको छ भने उहाँकै भाइ वसन्त नेम्वाङले प्रदेशसभामा टिकट पाउनुभएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिनुभएको छ। प्रचण्डकी बुहारी विना मगर कञ्चनपुर–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएको छ। उहाँकै ज्वाइँ जीवन आचार्य मोरङबाट प्रदेशसभामा उम्मेदवार बन्नुभएको छ भने भाइ नारायण दाहाललाई समानुपातिकतर्फको सूचीमा राखिएको छ।

टिकट बाँडफाँड कार्यदलमा संयोजक बन्नुभएका वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएको छ। उहाँकी श्रीमती निवर्तमान सभामुख ओनसरी घर्ती समानुपातिक सूचीमा रहनुभएको छ भने बहिनी लालकुमारी पुन ललितपुरबाट प्रदेशसभामा उम्मेदवार बन्नुभएको छ। नेता देव गुरुङ लमजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएको छ भने उहाँकी श्रीमती यशोदा सुवेदी समानुपातिकको सूचीमा रहनभुएको छ।

नेता हितमान शाक्य काठमाडौं १० बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको छ भने उहाँकी श्रीमती अमृता थापामगर समानुपातिक सूचीमा रहनुभएको छ। माओवादी केन्द्रले समानुपातिकतर्फको उम्मेदवार पनि अधिकांश नेताका नातागोता र अन्य पैसावाललाई समावेश गरेको बताइएको छ।

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले पार्टीले विभेद गरेर टिकट वितरण गरेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘अन्तिम अवस्थासम्म पनि मलाई टिकट पाउने निश्चित भएको स्वयम् अध्यक्ष प्रचण्डले नै बताउनुभएको थियो, तर टिकट लिने बेलामा मेरो नाम रातारात काटियो र नेताका आफन्तलाई दिइयो।’

दुवै पार्टीका शीर्ष नेताहरूले वामपन्थी गठबन्धन बनेकाले नेता र कार्यकर्तालाई परिस्थिति बुझिदिन आग्रह गर्ने गरेका छन्। ‘तर कार्यकर्ताको भावनामाथि नै चोट पुर्याउने गरी गरिएको निर्णयले कार्यकर्तामा निराशा छाएको छ’ –उहाँले भन्नुभयो।
शुरुदेखि अन्तिमम्म नै एमाले र माओवादीभित्र टिकट पाउने प्रबल सम्भावना रहेका नेताहरूलाई अन्तिम समयमा आएर टिकट पाउनबाट दुवै पार्टीका शीर्ष नेताहरूले वञ्चित गराएका थिए। टिकट वितरण गरेर शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानमा जुटे पनि नेता र कार्यकर्तामा भने टिकट वितरणको असन्तुष्टि उत्कर्षमा पुगेको छ।

वामपन्थी दुवै पार्टीले निर्वाचनमा टिकट वितरण गर्नका लागि मापदण्ड बनाए पनि ती मापदण्डलाई पाखा लगाउँदै नातागोता हावी भएको भन्दै शीर्ष नेताको चर्को आलोचना शुरू भएको छ। आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेको वामपन्थी गठबन्धनले टिकट वितरणमा भने पार्टीभित्र योगदान गरेको भन्दा पनि नातागोतालाई टिकट वितरण गरेको भन्दै असन्तुष्टि चुलिएको छ।

१ सय ६५ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रले टिकट वितरणमा विधि र पार्टी पद्धतिलाई बेवास्ता गरेको भन्दै नेतृत्वप्रति तीव्र असन्तुष्टि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्