१७ किलो सुनसहित युवक समातिए

0
Shares

नवराज पहाडी, लमजुङ
लमजुङमा करिब १७ किलो सुन चोरी निकासीका क्रममा प्रहरीले पक्रिएको छ। अवैध बाटोबाट ल्याइएको उक्त सुन बोकेर ल्याउँदै गरेका एक युवकलाई बिहीबार पक्राउ गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जनाएको छ।

पक्राउ पर्ने युवक मनाङको नासोङ गाउँपालिका–९, दानाक्यु गाउँका ३१ वर्षीय पासाङ लामा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायक उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो। उहाँका अनुसार ती युवकलाई मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट प्रहरीले सुनसहित पक्राउ गरेको हो। मनाङतर्फबाट मोटरसाइकलमा युवकले सुन लिएर आउँदै गरेको अवस्था पक्राउ गरेको हो। मोटरसाइकलमा आउँदै गरेका ती युवकलाई प्रहरीले चेकिङका क्रममा रोक्न खोजेपछि आनाकानी गर्दै भागेका थिए।

मोटरबाइक र सुन रहेको झोलासमेत छाडेर भागेका ती युवकलाई प्रहरीले पिछा गरी भाग्दै गरेको अवस्थामा खुदी बजारमा पक्राउ गरेको विष्टले बताउनुभयो। उहाँका अनुसार त्यो सुन तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने अनुमान गरिएको छ। थप कुरा अनुसन्धानबाट खुल्ने उहाँले बताउनुभयो।

सुन १७ थान समातिएको प्रनाउ विष्टले बताउनुभयो। ‘हेर्दा सुनजस्तै देखिन्छ। ती युवकले पनि सुन नै हो भनेका छन् तर तौल ठ्याक्कै के–कति हुन्छ जोखेपछि मात्र भन्न सकिन्छ’ –प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो। उहाँका अनुसार सामान्यतया एक थानमा एक किलो हुने गर्दछ। थप विवरण पछि अनुसन्धानमार्फत खुल्ने प्रहरी भनाइ छ।
लामाले चढेको बा५८प ४२९१ नं. को मोटरसाइकलसमेत समातिएको प्रहरी भनाइ छ। सो खबर पाउनासाथ प्रनाउ विष्ट आफैं खुदीमा पुग्नुभएको थियो।

लमजुङको उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिकाको खुदी बजार सदरमुकाम बेंसीशहरबाट ७ किलोमिटरको दूरीमा बेंसीशहर–चामे सडक खण्डमा पर्दछ।