जुम्लाका ५४ प्रतिशत बालबालिका अझै कुपोषित, संचालित कार्यक्रम प्रभावहिन

0
Shares

नन्दराम जैशी, जुम्ला ।
जुम्लाका ५४ प्रतिशत बालबालिका अझैपनि कुपोषित छन् । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका अनुसार सन् २०१२ मा गरीएको वेसलाइन सर्भे अनुसार जुम्लाका ८१ प्रतिशत बालबालिकामा कुपोषणको समस्या थियो । उक्त समस्या अहिले ४६ प्रतिशतमा झरेपनि ५४ प्रतिशत बालबालिका भने अझैपनि कुपोषित छन् । ४ बर्षमा जुम्लाका २७ प्रतिशत बालबालिका भने कुपोषण मुक्त भएका छन् ।

पोषण तथा खाद्य सुरक्षा आयोजना अन्र्तगत जिल्लामा कुपोषणको समस्या न्युनिकरणका लागि कृषि, स्वास्थ्य र पशु सेवा कार्यालयले काम गर्दै आएका छन् । वेसलाइन सर्भेपछि सन् २०१२ बाट शुरु भएको आयोजना सन् २०१८ को मार्च महिना अर्थात आगामि फागुन महिनादेखि समापन हुदैछ ।

आयोजना अन्र्तगत कार्यक्रम संचालन गर्दै आएका ३ वटै सरकारी कार्यालयले पोषण तथा खाद्य सुरक्षा सम्बन्धीका विभिन्न कार्यक्रम गरेका छन् । तर पोषण तथा खाद्य सुरक्षाबारे जिल्लामा थुप्रै कार्यक्रम भएपनि खासै जिल्लाको पोषण तथा खाद्य सुरक्षामा भने परिवर्तन आएको देखिदैन ।

बजेट कार्यान्वयनका हिसाबले प्रगति देखिएपनि आयोजना संचालन पश्चात बजेट अनुसार जिल्लाको पोषण तथा खाद्य सुरक्षाको अवस्थामा सोचे अनुसार सुधार नआएको जुम्लाका सरोकारवाला निकायको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा पोषण तथा खाद्य सुरक्षा आयोजना अन्र्तगत बुधबार (आज) सम्पन्न भएको जिल्ला स्तरीय सरोकारवालासँग पैरवि कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् । कुपोषणले बालबालिकाको उमेर अनुसार शाररीक तथा मानसिक विकासमा असर पर्नुका साथै भविष्यमा पनि आर्थिक हिसाबले कमजोर हुने सरोकारवालाको बुझाइ छ ।

“कुपोषण दर शुन्यमा झार्न सुनौला हजार दिन अवधिका गर्भवति महिला तथा बालबालिकाको घरमा हरीयो झण्डा राख्नुका साथै पोषणयुक्त खानेकुराको प्रयोग गर्न सिकाइदै । ”

जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाहिले भन्नुभयो, कुनै पनि गर्भवति महिला तथा बालबालिका कुपोषणको संकटमा नपरुन भन्ने उद्देश्यले विभिन्न चेतनाका कार्यक्रम गर्दै आएका छौ । त्यसै अनुरुप हरीयो झण्डा राख्ने कार्यक्रम पनि छ । भिटामिन, आयोडिन क्याप्सुल खुवाएर होइन अब घरमै उत्पादन हुने कृषि बालिको प्रयोगबाट कुपोषण अन्त्य गर्नुपर्ने जनस्वास्थ्य अधिकृत शाहिको भनाइ छ ।

बरीष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेलले अर्गानिक उत्पादकत्व बृद्धि गरी प्रयोगमा जोड दिनसके पोषण तथा खाद्य सुरक्षाको अवस्थामा सुधार आउने बताउनुभयो । स्थानियले अर्गानिक उत्पादनका बालिहरु बेचेर बजारका खानेकुरामा जोड दिएका कारण कुपोषण समस्या कायमै रहेको उहाँको भनाइ छ ।

बरीष्ठ पशु विकास अधिकृत माधव प्रसाद अर्यालले जिल्लामै दुध, अण्डा, माछा, मासु उत्पादन र प्रयोगमा बृद्धि गर्नसके मात्र प्रत्यक्ष बालबालिकाको पोषण स्थीतिमा सुधार आउने दावि गर्नुभयो ।