पश्चिम रुकुममा बाम गठबन्धन र नेपाली कांग्रेसको रोचक भिडन्त, बिजयी हुनेमा आ–आफनै दावी

0
Shares

धनवीर दाहाल, मुसिकोट रुकुम ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निबार्चनमा रुकुम पश्चिममा बाम गठबन्धन र नेपाली कांग्रेस बिच रोचक भिडन्त हुँदै छ । प्रतिनिधि सभाका लागी बाम गठबन्धनबाट माओबादी प्रभावशाली नेता जनार्दन शर्मा र नेपाली कांग्रेसबाट पुर्व राज्य मन्त्री गोपालजीजंग शाह प्रतिस्पर्धामा छन् । २०४८ सालमा भएको निबार्चनमा यि दुवै नेताले प्रतिस्पर्धा गरेका थिए । त्यतीबेला शर्मालाई शाहले पराजित गरेका थिए ।

२०७० सालको संबिधान सभा निबार्चनमा जनार्दन शर्माबाट पराजित भएका शाह यस पटक पनि भिड्दै छन् । यस पटकको निबार्चनमा एमाले र माओबादी बिच चुनावी तालमेल भएपछि रुकुममा माओबादीको भागमा परेको छ । एमालेले आफ्नो साझा उम्मेदवार शर्मा भएको भन्दै संयुक्त प्रचार सुरु भइसकेको छ । नेकपा एमाले रुकुमका पुर्व अध्यक्ष एवं प्रदेश नं ६ का सदस्य ठगेन्द्रप्रकाश पुरीले पार्टी एकताको प्रक्रिया सुरु भएको र निबार्चन पछि टुंगोमा पुग्ने बताए ।

दुवै पार्टीका साझा उम्मेदवार शर्मा भएकोले निर्धक्क भएर भोट हाल्न उनले आग्रह गरे । यस्तै नेपाली काँग्रेसका उम्मेदवार शाहले लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसले जित्नै पर्ने बताएका छन् । उनले नेपालका कम्युनिटहरुले बेला बेलामा जनतालाई धोका दिंदै आएको स्मरण गराउँदै अहिले पनि बाम गठबन्धनको नाममा उनीहरुले नेपाली जनतालाई धोका दिन लागेकोले यसतर्फ सचेत हुन सबै मतदाताहरुलाई आग्रह गरे ।

लोकतन्त्र बलियो भए मात्र देशको विकास र समृद्धि सम्भव हुने भएकाले आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा लोकतान्त्रीक शक्तिको बहुमत आउने उनको भनाई थियो ।

पूर्व राज्यमन्त्रीसमेत रहेका नेता शाहले रुकुमको विकास र समृद्धीको लागि आफु र आफ्नो पार्टीले ठुलो योगदान गरेकाले अब हुने निर्वाचनमा रुकुमेली जनताले आफुलाई बिजयी गराएर छोड्ने दाबी गरे । रुकुमको शिक्षा, स्वास्थ्य, विद्युत, रोजगार लगायतको विकासमा आफ्नो पार्र्टीले महत्वपूर्ण भुमिका निर्वाह गरेकोले स्मरण गराउँदै उनले अबको निर्वाचनमा रुख चिन्हमा मतदात गरेर काँग्रेसलाई जिताउन आग्रह समेत गरेका छन् । बाम गठबन्धनका उम्मेदवार माओबादी केन्द्रका नेता शर्माले पश्चिम रुकुममा आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् । २०६४ र २०७० मा बिजयी भएका शर्मा यस पटक एमालेको समेत साथ पाएकोले झनै खुसी देखिएका छन् ।

उनले हिजोका तीतामिठा कुराहरुलाई बिर्सेर अब देश निर्माणका लागि लाग्नुपर्नेमा नेताहरुले जोड दिएका छन् । परिवर्तन र विकासका लागि आन्दोलन गर्दागर्दै नेपाली जनताहरु हैरानै भएकोले अब परिवर्तन र विकासका लागि पार्टी एकतामा लागेको बाम नेताहरुको भनाई छ । जिल्ला र देशको लागी आफुले गरेको काम रुकुमका जनताले मुल्यांकन गर्ने शर्माको भनाई छ । कम्युनिष्टहरु एकता हुन सक्दैनन भन्ने भ्रमलाई गलत सावित गर्दै कम्युनिष्टको निति अनुसार समाजबाद हुँदै साम्यवाद पुग्नका लागि एकताको खाँचो भएकोले पार्टी एकता गर्नै लागेको रुकुमका बाम नेताहरुको भनाई छ । रुकुम (पश्चिम)का प्रमुख नेता एवं नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर के.सीले जनताको चाहना अनुसार पार्टी एकता प्रक्रिया सुरु भएको बताए ।

कतिपयले यो निबार्चन सम्मका लागी मात्र हो भनि भ्रम छर्ने काम गरेको भन्दै पार्टी एकताका लागी आफुहरु होमिएको बताए । यसै गरी एकता संयोजन समितीका प्रमुख नेता एवं माओबादी केन्द्रका रुकुम (पश्चिम) इन्चार्ज राजकुमार शर्माले अव गाँउ गाँउमा संयुक्त निबार्चन परिचालन कमिटी निमार्ण हुने जानकारी दिए ।

पार्टी एकताले जनतामा खुसी छाएको बताउनुहुँदै नेता शर्माले राष्ट्रलाई समृद्ध बनाउनका लागी एक हुनुको बिकल्प नभएको जनाए । आगामी मंसिर १० गते हुने निबार्चनमा रुकुममा आफ्नो गठबन्धनले भारी मतका साथ आफ्ना उम्मेदवारलाई बिजयी बनाउने दावी गरे । यति मात्र नभएर द्धन्द्धकालमा सँगै लडेका जनार्दन शर्माका सँगैका सहपाठी सरुण बाँठा यस पटक नयाँ शक्तिबाट शर्मासँगै चुनावी प्रतिस्पर्धामा छन् । उनी पनि यस पटक आफुलाई जनताले मत दिने र आफुले जित्ने दावी गर्दछन् ।

यस्तो छ उम्मेदवारुहरुको राजनिनितिक पृष्ठभुमी

नाम – गोपालजीजंग शाह
दल – नेपाली कांग्रेस
पद – प्रतिनिधि सभा सदस्य रुकुम (पश्चिम)
ठेगाना – मुसीकोट नगरपालिका वडा नं. १३, रुकुम (पश्चिम)

मुसीकोट नगरपालिका वडा नं. १३ निवासी गोपालजीजंग शाह नेपाली कांग्रेस रुकुमको अभिावकका रुपमा चिनिन्छन् । यहाँ कांग्रेसको बीउ रोप्ने भनेर उनलाई चिनिन्छ । उनी पञ्चायत राजनीति संगै २०२५ सालमा नेपाल विद्यार्थी संघको राजनीतिमा लागेँ । २०४६ सालमा पार्टी राजनीतिमा होमिएका शाह २०४८ सालको चुनावमा तत्कालिन गृहमन्त्री जनार्दन शर्मा लाई पराजित गर्दै बिजयी भएका थिए । २०५१ सालमा भएको चुनावमा पुनः उनी विजयी भए ।

२०५६ सालको चुनावमा उनले नेकपा एमालेवाट पराजित भए । २०६४ सालको चुनावमा पार्टीको समानुपातिक सुचीमा परेका उनी सभाषद् बन्न पाएनन् । २०७० सालका चुनावमा पुनः तत्कालिन गृहमन्त्री शर्मावाट पराजित भए । अहिले उनी उनै शर्मा संग चुनावी मैदानमा छन् । शाह पञ्चायलका बेला २०३८ सालमा श्रम सहायक मन्त्री भए । २०५२ सालमा पुनः सहायक मन्त्री भएका शाह २०५३ मा वाणिज्य राज्य मन्त्री भए । अहिले उनी रुकुम (पश्चिम) वाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्दैछन् ।

नाम – जनार्दन शर्मा
दल – नेकपा माओवादी केन्द्र
उम्मेदवार – प्रतिनिधि सभा सदस्य रुकुम (पश्चिम)
ठेगाना – मुसीकोट नगरपालिका वडा नं. ५, रुकुम (पश्चिम)

तत्कालिन नेकपा माओवादीमा पुर्ण भूमीगत राजनीति गरेको जनार्दन शर्मा मुसीकोट नगरपालिका वडा नं. ५ सेरीगाउँमा २०२० सालमा जन्मिएका हुन् । २०४८ सालमा संयुक्त जनमोर्चावाट चुनाव लडेका उनी त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवारवाट पराजित भएका थिए । गणतन्त्र पछिको पहिलो पटक २०६४ सालमा भएको संविधान सभाको चुनावमा उनी विजयी भए ।

पुनः २०७० सालमा पनि उनी विजयी भए । २०६४ सालमा शान्ति मन्त्री भएका उनी २०७३ सालमा उनी उर्जा मन्त्री भए । २०७४ सालमा गृहमन्त्री भएका उनी राजनीति घटना क्रमपछि उनी अहिले विना विभागीय मन्त्री छन् । उनले प्रतिनिधि सभाको निर्वाचनका लागि रुकुम (पश्चिम) वाट मनोनयन दर्ता गराएका छन् ।

नाम – सरुण बाँठा
दल – नयाँ शक्ति
उम्मेदवार – प्रतिनिधि सभा सदस्य रुकम पश्चिम

शसस्त्र युद्धको बेला जनार्दन शर्माका सँगैका सहपाठी सरुण बाँठा यस पटक नयाँ शक्तिबाट शर्मासँगै चुनावी प्रतिस्पर्धामा छन् । नयाँ शक्ति नेपालबाट प्रतिनिधि सभाका लागी उम्मेदवार रहेका बाँठा २०२४ सालमा रुकुमको दुली गाविसमा जन्मेका हुन् । २०३८ सालमा बिद्यार्थी राजनितिमा लागेका बाँठाले २०४५ सालदेखी पार्टी सदस्यता प्राप्त गरेका थिए । माओबादी जनयुद्धका बेला तत्कालिन जनसरकारको प्रमुख भएर २०५८ देखी शान्ति प्रक्रिया सुरु हुँदा सम्म समानान्तर सत्ता चलाएका थिए । माओबादीबाट अलग्गीएर डा बावुराम भटराईले नयाँ शक्ति पार्टी खोलेपछि बाँठाले पनि माओबादी छोडे । माओबादी पार्टीमा रहँदा पनि इमान्दार र त्यागी नेताको रुपमा चिनिने बाँठाले बिभिन्न समयमा कृषि खेती पनि गर्दै आए । तत्कालिन एकिकृत माओबादी रुकुमको इन्जार्च हुँदा उनले च्याउ खेती गर्दै आएका थिए । नयाँ शक्तिको केन्द्रीय सचिवालय सदस्य रहेका उनी हाल नयाँ शक्तिबाट आफ्नो पक्षमा मत मागिरहेका छन् ।

यसै गरी प्रदेश सभा अन्र्तगत रुकुम पश्चिममा बाम गठबन्धनबाट प्रदेश सभा क मा रातो कामी र नेपाली कांग्रेसबाट कृष्णबहादुर रोकाय तथा नयाँ शक्तिबाट डम्बर बिष्ट चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभा ख बाट नेपाली कांग्रेसबाट खड्ग डाँगी र बामगठबन्धनबाट माओबादी केन्द्रका गोपाल शर्मा प्रतिस्पर्धामा रहेका छन् ।

नाम – डम्मर विष्ट
दल – नयाँ शक्ति
उम्मेदवार – प्रदेश सभा सदस्य (क)
ठेगाना – मुसीकोट नगरपालिका वडा नं. १४, रुकुम (पश्चिम)

लामो समय रेडियो पत्रकारितावाट लोकप्रिय भएका विष्ट पछिल्लो समय राजनीतिमा पर्खर रुपमा उदाँदै गएका छन् । रेडियो कार्यक्रम सञ्चालन गरि वालक देखी बृद्ध सम्मको मन जित्न सफल विष्ट हाल प्रेस सोसाइटी प्रदेश नं. ६ का संयोजक छन् भने पार्टीको केन्दिय परिषद् सदस्य छन् । पैसा खर्च गरेर राजनीति भन्दा इमान्दारिताका साथ जनताको सेवा गरेर राजनीति गर्नु पर्ने मान्यता राख्दछन् ।

नाम – कृष्णवहादुर रोकाय
दल – नेपाली कांग्रेस
उम्मेदवार – प्रदेश सभा सदस्य (क)

२०४७ सालमा नेपाल विद्यार्थी संघ रुकुमको संस्थापक अध्यक्ष रोका विद्यार्थी राजनीतिवाट पार्टीको मुलधारे राजनीतिमा आएका हुन् । भद्र र शालिन मानिने रोका २०५० साल सम्म अध्यक्ष भएका थिए । २०५३ सालमा नेपाली कांग्रेसको जिल्ला तदर्थ समितिमा रहेका उनी २०५७ सालमा महाधिवेशन प्रतिनिधि भए । हाल सम्म पनि उनी महाधिवेशन प्रतिनिधि छन् । २०७० सालको निर्वाचनमा क्षेत्र नं. १ वाट प्रत्यक्ष तर्फको उम्मेदवार हुन् । राजनीतिलाई व्यवसाय भन्दा पेशा बनाउन चाहने रोका नेपाली कांग्रेस रुकुमका पाखा र पुराना नेता हुन् ।

नाम – रातो कामी
दल – माओबादी केन्द्र
उम्मेदवार – प्रदेश सभा सदस्य (क)

रातो कामी माओबादी केन्द्र भित्रका दलित नेता हुन् । उनले माओबादी केन्द्रमा त्यागी नेताको रुपमा परिचय बनाएका छन् । २०५४ को स्थानीय चुनावमा एमालेबाट निबार्चन जितेका उनी एमालेबाट राजनिति गरेका हुन् । २०५५ तिर माओबादीमा आवद्ध कामीले पार्टी र स्थानीय स्तरमा जनताको मन जितेका छन् । यस पटक उनले आफ्नो पक्षमा एमालेलाई साथमा लिएर मत मागिरहेका छन् ।

नाम – खड्क डाँगी
दल – नेपाली कांग्रेस
उम्मेदवार – प्रदेश सभा सदस्य (ख) रुकुम पश्चिम
ठेगाना – चौरजहारी नगरपालिका वडा नं. १०, रुकुम (पश्चिम)

२०५० सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिवाट राजनीति गरेका खड्का २०५६ साल देखी नेपाली कांग्रेसको पार्टी राजनीतिमा शसक्त भई काम गरेँ । उनी अस्पताल विकास समितिको अध्यक्ष र स्थानीय शान्ति समितिको संयोजक भएका थिए । हाल उनी नेविसंघको निर्वाचित केन्द्रिय सदस्य छन् । विपिको प्रजातन्त्र संकटमा पर्दै गएको देख्ने खड्का कानुन र विधिको शासन, स्वतन्त्रता हुनु पर्ने बताउँछन् । उनी पार्टी भित्रका एक इमान्दार र कर्मठ नेताका रुपमा परिचित छन् ।

नाम – गोपाल शर्मा
दल – नेकपा माओवादी केन्द्र
उम्मेदवार – प्रदेश सभा सदस्य (ख)

उनी २०४५ साल देखी विद्यार्थी राजनीतिमा संगठित भए । सोही बेला राजा फाल्नु पर्ने र गणतन्त्र ल्याउनु पर्छ भन्ने आवाज उठाउन थाले । तत्कालिन नेकपा माओपाली जनयुद्धमा गएपछि उनी भुमीगत भएर राजनीति गर्न थाले । २०५६ सालमा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष बने ।

पार्टीको पोलिट ब्युरो सदस्य समेत भएका उनी हाल जिल्ला अध्यक्ष छन् । पार्टी भित्र प्रभावशाली मानिने शर्मा जनतासँग सजिलै घुलमिल हुने सक्ने नेताका रुपमा चिनिन्छ ।