राजधानीको फोहोर व्यवस्थापनमा समस्या

0
Shares

 

ईश्वरराज ढकाल
बन्चरेडाँडा, नुवाकोट
उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन गर्न अब कठिनाइ हुने भएको छ। फोहोरको डंगुरका कारण सिसडोलको चारवटा ल्यान्डफिल साइट पूर्णरूपमा भरिभराउ भएका छन्। २०६२ सालमा सरकारले सिसडोलको ल्यान्डफिल साइटमा उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको थियो। शुरुमा भ्याली १, त्यसपछि भ्याली २, आलेटार हुँदै अहिले भ्याली ४ मा फोहोर व्यवस्थापन गर्दै आइरहेको छ। स्थानीयवासीले स्वतः सिसडोलमा फोहोर व्यवस्थापन गर्न अवरोध गर्दै आइरहेको अवस्थामा सरकारले त्यसको विकल्पका रूपमा बन्चरेडाँडालाई हालसम्म प्रयोग गर्न सकेको छैन।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले अब मुस्किलले करिब ५ महिनासम्म सिसडोलमा फोहोर व्यवस्थापन गर्न सकिए पनि त्यसपछि सम्भव नभएको बताउनुभयो। ‘सरकारले करिब ७ वर्षका लागि भन्दै सिसडोलका स्थानीयलाई फकाएर अहिलेसम्म व्यवस्थापन गर्दै आइरहेको छ। सिसडोलमा फोहोर व्यवस्थापन गर्न थालेको १३ वर्ष पुगिसकेको छ।

अब स्थान अभावका कारण बन्चरेडाँडा जानुको विकल्प छैन।’ –विभागीय प्रमुख श्रेष्ठले भन्नुभयो। बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सरकारले हालसम्म कुनै चासो देखाएको छैन। बन्चरेडाँडा सिसडोलबाट १ दशमलव ९ किलो मिटर मात्रै टाढा पर्छ।

नजिकको बाटो भए पनि सरकारले पूर्वाधारको विकास नगर्दा बन्चरेडाँडामा कहिले फोहोर व्यवस्थापन गर्न सकिन्छ भन्ने विषय अन्योलमा परेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्नुको कुनै विकल्प नभएको बताउनुभयो। उहाँले सिसडोलको समय सकिएको अवस्थामा फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समस्या परेको बताउनुभयो।

‘सरकारले हेरेन। अब हामी प्रधानमन्त्रीलाई भेटेर बन्चरेडाँडाको पूर्वाधार विकास गर्न अनुरोध गर्नेछौं।’ –मेयर शाक्यले भन्नुभयो। ‘प्रधानमन्त्रीले मातहतका मन्त्री, राज्यमन्त्री वा सचिव जसलाई जिम्मा दिए पनि बन्चरेडाँडामा फोहोर व्यवस्थापन हुनुपर्यो। १ हजार ७ सय ४२ रोपनी जग्गा ओगटेको बन्चरेडाँडामा सरकारले बाटो, ल्यान्डफिल साइट निर्माण, पुल निर्माणलगायतका पूर्वाधार तत्काल विकास गर्नुपर्छ।’ –ल्यान्डफिल साइटका साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले भन्नुभयो। सरकारले २०६३ सालमै अबको ५० वर्षसम्मको फोहोर व्यवस्थापन गर्न सक्ने जनाउँदै जग्गा अधिग्रहण गरेको थियो।

हालसम्म सामान्य ट्रइक खोल्ने कामबाहेक कुनै पूर्वाधार निर्माण हुन सकेको छैन। नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडामा अझै ५ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था आएको छ। सरकारले हाल ल्यान्डफिल साइटमा पुग्नका लागि पुल निर्माण कार्य थालेको छ।

कामपा भौतिक पूर्वाधार विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले ल्यान्डफिल साइटमा पुग्न बाटो र पुललगायत पूर्वाधारको तत्काल विकास गर्नुपर्ने बताउनुभयो।

‘सिसडोलमा फोहोर व्यवस्थापन गर्दा लिचेड जताततै फैलिएको छ। फोहोर गन्हाएर बस्नै नसक्ने भएको छ, लिचेडको व्यवस्थापन गर्न नसक्दा गाईबस्तु मरेका छन् खेती हुन सकेको छैन’ –ठाडेका फोहोरमैला पीडित स्थानीय बद्री ओझाले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँले कामपाले सिसडोलमा फोहोर व्यवस्थापन तत्काल छाडेर बन्चरेमा लैजानुपर्ने बताउनुभयो।

फोहोरले समस्या गरेपछि अधिकांश गाईबाख्रा फोहोरमै चरिरहेका छन्। कामपालगायत उपत्यकाका १८ वटा स्थानीय निकायले सिसडोलमै फोहोर व्यवस्थापन गर्ने भएकाले समस्या भएको जानकारी गराउँदै कामपा वातावरण व्यवस्थापन महाशाखा प्रमुख युवराज खनालले तत्काल बन्चरेमा व्यवस्थापन गर्न नसके समस्या पर्ने बताउनुभयो।
‘कामपाले बेलैमा फोहोरको व्यवस्थापन गर्न नसके उपत्यकाको फोहोर व्यवस्थापनमा जटिलता आउनेछ। यस्तो अवस्था देखेपछि बन्चरेमा पूर्वाधार निर्माण गरिदिन सरकारलाई आग्रह गर्दै आएका छौं, हालसम्म सुनुवाइ हुन सकेको छैन’ –वातावरण व्यवस्थापन विमाग प्रमुख श्रेष्ठले भन्नुभयो। हाल काठमाडौं उपत्यकाबाट दैनिक १ सय ४० वटा ट्रकले सिसडोलमा फोहोर व्यवस्थापन गर्ने गरेको छ। उपत्यकाबाट दैनिक करिब ७ सय ५० टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।