कांग्रेस भ्रातृ संगठनबाट पनि थापा अस्वीकृत


हेटौंडा,(नेस) ।

लोकतान्त्रिक गठबन्धनका नाममा कांग्रेसको सहयोगमा मकवानपुर १ बाट उम्मेदवार बन्ने भनिएका राप्रपा केन्द्रीय अध्यक्ष कमल थापालाई मकवानपुर कांग्रेसका भ्रातृ संगठनहरुले पनि अस्वीकार गरेका छन् ।
पार्टी जिल्ला कार्यसमितिले थापालाई प्रतिनिधिसभाको आगामी निर्वाचनमा सहयोग गर्न नसकिने घोषणा गरेको कांग्रेसका भ्रातृ संगठनहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस जिल्ला कमिटीको निर्णयको समर्थन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ अध्यक्ष राजु खतिवडा शिव, नेपाल तरुण दल अध्यक्ष ईश्वर पाठक, नेपाल तामाङ संघ मकवानपुर अध्यक्ष चम्फुरत्न लामा, नेपाल स्वास्थ्यकर्मी संघ, मकवानपुर अध्यक्ष रामआदर पाण्डे, नेपाल लोकतान्त्रिक ब्यापार संघ, मकवानपुर अध्यक्ष काब्यमणि अधिकारी, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ अध्यक्ष कपिल बानियाँ र प्रजातन्त्र सेनानी संघ, मकवानपुर अध्यक्ष दामोदर सुवेदीले संयुक्त विज्ञप्ति प्रकाशन गरेका हुन् ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने क्रममा गठबन्धनका नाममा नेपालको राजनीतिक परिवर्तनमा कुनै हिस्सा प्राप्त नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष थापालाई कांग्रेस गठबन्धनका नाममा साझा उम्मेदवार बनाउने पार्टी नेतृत्वको निर्णयप्रति उनीहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाली राजनीतिको महत्वपूर्ण अंश बोकेको नेपाली कांग्रेसको राजनीतिक इतिहासलाई आत्मसात् गर्दै नेपाली जनताले ७० वर्षअगाडि अपेक्षा गरेको संविधानसभाद्वारा नेपाली जनताको अधिकार स्थापित गर्ने नेपालको संविधान जारी गरी कार्यान्वयनको चरणमा प्रवेश गरी स्थानीय तह निर्वाचन सम्पन्न भएको अवस्थामा थापालाई स्वीकार गर्न नसकिने उनीहरुको भनाइ छ ।

नेपाली कांग्रेसका जिल्लास्तरका नेताहरुले सोमबार गरेको पत्रकार सम्मेलनमार्फत् सम्प्रेषित दृष्टिकोणप्रति एकमतले समर्थन गर्दै आसन्न निर्वाचनबाट नेपाली कांग्रेसको संगठन मकवानपुरमा धराशयी हुने अवस्थाबाट संगठन संरक्षण र सम्वद्र्धनका लागि मकवानपुरमा राप्रपासँग गठबन्धन आवश्यक नभएको उनीहरुको निष्कर्ष छ ।

केन्द्रीय नेतृत्वले गरेको निर्णय पुनर्विचार गरी मकवानपुरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले एकल उम्मेदवार चयन गर्दै पार्टी नेतृत्वले अनुकूल र पार्टी हितबारे पुनर्विचार नगर्दा हुनसक्ने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी पार्टी केन्द्रीय नेतृत्वले लिनुपर्ने चुनौती संयुक्त प्रेस विज्ञप्तिमार्फत् दिइएको छ ।

महामानव वीपी कोइरालाकाको विचारबाट अनुप्राणित वीपी विचार समाज मकवानपुरले पनि नेपाली कांगे्रसको वर्तमान नेतृत्वबाट विगत र वर्तमानमा फक्रिएको सत्ताप्रेरित अप्रजातान्त्रिक निर्णयबाट स्तब्ध भएको जनाएको छ । समाज जिल्ला अध्यक्ष बिनोदचन्द्र कोइराला र सचिव नारायण लम्सालले प्रजातान्त्रिक शासन व्यवस्था र आचरणले मात्र देश र जनता भलो हुने बताएका हुन् ।

महामानवको दर्शनको प्रतिकूल प्रजातान्त्रिक मूल्य मान्यताका प्रतिकूल शक्तिहरुसग सत्तास्वार्थका लागि गठबन्धन गर्दै जाँदा कुनै हालतमा देश र जनताको भलो हुन नसक्ने समाजले ठहर गरेको छ ।

दशकांैको मेहनतपछि मकवानपुर क्षेत्र नं. १ मा वीपी विचारले झण्डा गाडेको स्थानमा पुनः अप्रजातान्त्रिक शक्तिसँग गठजोड गरी वीपी विचारको अवमूल्यन गर्ने प्रयास गरिएको समाजले बताएको छ । वीपीले जन्माएको र वीपी विचारबाट हुर्किएको पार्टी नेपाली कांगे्रसको नेतृत्वले आफ्ना अप्रजातान्त्रिक शैली र निर्णय नसच्याउने हो भने वीपी विचार समाज मकवानपुर यस्ता निर्णयको विकल्प खोज्न बाध्य हुने चेतावनी दिइएको छ ।