भूकम्प पीडितको एउटै आवाजः घर बनाइदिनेलाई भोट

0
Shares

नेपाल समाचरापत्र, लमजुङ ।
लमजुङका भूकम्प पीडितहरूले आफ्नो घर बनाइदिनेलाई भोट दिने बताएका छन् । मुकम्प गएको ३० महिना वितिसक्दासम्म पनि पुनःनिर्माणका लागि सरकारको बाटो हेरेर बसेका भुकम्प पीडित अहिलेसम्म स्थायी छाप्रोमा सर्न नसके पछि त्यस्तो बताएका हुन् ।
जिल्लाको पूर्वीक्षेत्र जो २०७२ सालको बैशाखमा गएको भूकम्पको केन्द्र विन्दू रहेको गोरखा जिल्लासँग सीमा जोडिएका साविकका ६ गाविसका बासिन्दाको भनाई हो यो ।

तत्कालीन ६ गाविसहरू दूधपोखरी, विचौर, इलमपोखरी, कोल्की, गौँडा र पाचोक सबैभन्दा बढी प्रभावित भएको सरकारी सूचिमा समेत अंकित छ ।

विचौर निवासी ७७ वर्षिया भद्रीमाया न्यौपानेले जसले स्थायी छाप्रोमा वस्ने वातावरण वनाउछ त्यसैलाई भोट दिने बताउनु भयो । राजनीतिक दलहरुले आफ्नो घोषणा पत्र सार्वजनिक गरी नेताहरु भोट माग्न गाउँ गाउँमा थालिसकेका छन् । तर स्थानीयबासीलाई भने राजनीतिक दलका घोषणा पत्रको मतलव छैन, चिन्ता छ केवल आफ्नै वासको ।

सवै भुकम्प पीडितको एउटै चाहना छ जसरी पनि यो जाडोयाम स्थायी छाप्रोमा विताउने । अर्का भुकम्प पीडित धनबहादुर गुरुङले भन्नुभयो ‘अब हाम्रो घर बनाउने काममा जसले सघाउँछ त्यसैलाई भोट दिन्छौँ ।’ उहाँले भन्नुभयो ‘जनतालाई दुःख पर्दा सहयोग नगर्नेलाई अब भोट दिंदैनौँ ।’ दुई वर्षको चिसो र बर्षायाम कष्टसहेर दिन र रात विताउँदा समेत घर बनाउनका लागि दिने भनेको सहयोग रकम नपाउँदा सरकार र दलप्रतिको आश मरेको ईलमपोखरी सानोकाभ्रेकी भुकम्प पीडित यो कुमारी गुरुङले बताउनु भयो । उहाँले थप्नु भयो ‘हाम्रो बासको व्यावस्था जसले गर्छ उसैलाई भोट दिने हो ।’

कोल्कीकी ७१ वर्षकी सानुमाया परियारलाई चुनाव प्रति कुनै उत्साह छैन । भुकम्पले बस्ने झुपाडी पनि लग्यो घर बनाउने पैसा छैन ‘जुनै नेतालाई जिताए पनि हामीलाई के भयो र ! नेतालाई भोट र कुर्सी पाए भयो, भोट हालेर हामीले के पायँे र ? भन्दै प्रश्न गर्नु हुन्छ ।
लमजुङमा १३ हजार ९ सय ५९ घरधुरी लाभग्राही सूचिमा सूचिकृत भएका छन् । जिल्लामा साँढे १२ हजार निजी घर निर्माणको सम्झौता भएको समन्वय समितिका कार्यक्रम अधिकृत शिब रेग्मीले बताउनु भयो ।

 

उहाँका अनुसार ती मध्ये ८ हजार ७ सय २ घरधुरीले ५० हजार रुपियाँका दरले पहिलो किस्ता बुझिसकेका छन् । तीमध्ये ७५ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेका छन् । तर राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्राविधिक नखटाउँदा पहिलो किस्ता बुझेर बनाउँदै गरेका घर मापदण्डको चेकजाँच नगरेकाले समस्या भएको रेग्मीले बताउनु भयो ।

प्राविधिकहरू गाउँमा नजाँदा किस्ता पाएका भुकम्प पीडितले पनि घर बनाउन सकेका छैनन् । प्रविधिकका कारण अहिलेसम्म ‘जिल्लाभर करिब एक हजार घर निर्माण सकिए पनि १२ हजार ९ सय ५९ घरधुरीले अझै घर बनाउन सकेका छैनन् ।

‘हाम्रै तरिकाले घर बनाउँदा बिग्रने हो कि ? पूर्वी लमजुङको भारतेका भुकम्प पीडित अनिल अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्राविधिक गाउँमा नआउँदा समस्या छ ।’