पूर्वसभासद् ढुंगेल जेल चलान



 

मधुसूदन रायमाझी
काठमाडौं
र्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका नेकपा माओवादी केन्द्रका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई जेल चलान गरिएको छ। ढुंगेललाई काठमाडौं जिल्ला अदालतको अनुमतिपत्रपछि सदरखोर डिल्लीबजार जेल चलान गरिएको हो।

अदालतका अनुसार ढुंगेलले १२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्नेछ। आठ वर्षअघि द्वन्द्वकालीन घटनामा ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो। तर द्वन्द्वकालीन घटना भएको भन्दै ढुंगेललाई यसअघि प्रहरीले पक्राउ गरेको थिएन। मंगलबार ललितपुरको सातदोबाटोस्थित डेराबाट ढुंगेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। जेल चलान हुने क्रममा प्रतिक्रिया दिँदै पूर्वसभासद् ढुंगेलले आफूलाई जनयुद्धकालीन मुद्दामा फसाउन खोजिएको बताउँदै यो घटनाबाट शान्ति प्रक्रिया भंग हुने चेतावनी दिनुभएको थियो। ढुंगेललाई डिल्लीबजारस्थित सदरखोरको ‘ख’ ब्लकमा राखिएको छ।

यसअघि ओखलढुंगा जिल्ला अदालतमा ढुंगेलले ८ वर्ष बन्दी जीवन बिताइसकेका छन्। सो अवधि कटाएर बाँकी बसेको १२ वर्ष ५ महिना जेल बस्दै ढुंगेलले आफ्नो निजी आर्जन र अंशबापत प्राप्त चलअचल सम्पत्ति सरकारलाई बुझाउनुपर्ने हुन्छ। जेलमा राम्रो आचरण भएमा जेलरको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशत कैद भुक्तान गरेपछि आममाफी दिन सक्ने व्यवस्था रहेको छ। त्यस्तो आममाफी दशैं–तिहार र संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिन सक्ने कानुनविद्हरूको तर्क छ।

सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता ढुंगेललाई सातदोबाटोबाट पक्राउ गरेलगत्तै प्रहरीले बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा ल्याएको थियो। अदालती प्रक्रिया सकेर उहाँलाई बाहिर निकाल्ने क्रममा अदालतको ढोकाबाट निस्कँदै गर्दा ढुंगेल हात हल्लाउँदै बाहिरिनुभएको थियो।

नेकपा माओवादी केन्द्रले पूर्वसभासद् ढुंगेलको पक्राउ शान्ति सम्झौताविपरीत रहेको बताउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। ढुंगेलको पक्राउ शान्ति सम्झौताविपरीत रहेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले तत्काल रिहा गर्न माग गरेको हो।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिनुपर्छ, शान्ति सम्झौताको मर्मविपरीत ढुंगेलको गिरफ्तारी निन्दनीय छ। ढुंगेललाई तत्काल विनासर्त रिहा गर्नुपर्छ।’ माओवादीले ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने माग गरेको छ।

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुन सक्ने आशंका गर्दै प्रवक्ता भुसालले विस्तृत शान्ति सभ्झौताको क्षेत्राधिकार नाघेर ढुंगेललाई पक्राउ गर्नु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिनुभयो। निर्वाचनको मुखमा आएर ढुंगेललाई पक्राउ गर्नुले सरकारले तोकिएकै मितिमा निर्वाचन नगर्ने हो कि भन्ने आशंका जन्माएको बताउँदै उहाँले भन्नुभयो– ‘ढुंगेललाई रिहा गर्नुपर्छ सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनै पर्छ, अहिलेको सरकारको काम भनेकै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु हो।’ ढुंगेल पहिलो संविधानसभामा ओखलढुंगा–२ बाट निर्वाचित सभासद् हुन्।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले द्वन्द्वकालीन घटनाको विषयलाई लिएर ढुंगेल पक्राउ पर्नु गलत भएको प्रतिक्रिया दिनुभयो।

 

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘ढुंगेललाई पक्राउ गर्नु शान्ति प्रक्रिया बिथोल्ने काम हो, सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् नै द्वन्द्वकालीन घटनाको टुंगो लगाउने सहमति भएको हो।’ उहाँले ढुंगेललाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रने चेतावनी दिनुभयो।
ढुंगेललाई पक्राउ गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि बिनासर्त रिहाइ र मुद्दा खारेजी गर्न माग गरेको छ। महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले विज्ञप्ति जारी गर्दै जनयुद्धका योजनाकारलाई सरकारमा सहभागी गराएर मोजमस्तीमा सहकार्य गर्ने अनि कार्यकर्तालाई चाहिँ दोषी बनाएर जेलमा कोच्ने कार्य भएको भन्दै आपत्ति जनाउनुभएको छ।

जनयुद्धका क्रममा भएका घटनालाई आन्दोलनबाट अलग गर्ने र आन्दोलनमा विशेष योगदान गर्ने व्यक्तिलाई अलग गरेर आन्दोलनका विषयलाई व्यक्ति विशेषको अपराध बनाएर क्रान्तिकारी आन्दोलनलाई नै कमजोर बनाउने कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
ढुंगेल पक्राउ परेपछि माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ढुंगेललाई तत्काल रिहा गर्न माग गरेको छ। वाईसीएलले एक विज्ञप्ति जारी गरी ढुंगेललाई तत्काल रिहाइ नगरिए देशभरका ७७ वटै जिल्लामा कांग्रेसका र राप्रपाका नेताहरूमाथि मुद्दा दायर गरेर द्वन्द्वकालीन मुद्दाहरू ब्युँताउने चेतावनीसमेत दिएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘ढुंगेललाई तत्काल रिहाइ नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्द्वकालीन मुद्दाहरू ब्युँताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरूमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाईसीएलका मातहतका जिल्ला समितिहरूलाई निर्देशित गर्दछ।’
संगठनले द्वन्दकालका गम्भीर घटनामा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ मार्फत् हेरिने भन्ने विस्तृत शान्ति सम्झौताको उलंघनमात्रै होइन देश निर्वाचनमा होमिइरहँदा निर्वाचन भाड्ने षड्यन्त्र स्वरूप गरिएको गिरफ्तारीप्रति आपत्ति व्यक्त गरेको छ।

पक्राउको स्वागत
पूर्व सांसद ढुंगेललाई पक्राउ गरेर जेल चलान गरेकोमा इन्सेकले स्वागत गरेको छ। इन्सेकले एक विज्ञप्ति जारी गर्दै ढुंगेलको गिरफ्तारीपछि पीडित परिवारले न्याय पाएको उल्लेख गरेको छ। ‘सरकारको यो कदमको समर्थन गर्दछौं, कानुनी शासनको सम्मान गर्दै सबै न्यायिक निर्णय र प्रक्रियाको परिकल्पना गर्न जोडदार माग गर्दछौं’ –विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्