अझै पत्ता लागेन ढुंगा तात्ने रहस्य

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
स्वयम्भु मन्दिर परिसरमा विगत १ महिना अघिदेखि तात्न थालेको ढुंगाको रहस्य अझै पत्ता लाग्न सकेको छैन । अध्ययनका लागि जुटेको खानी तथा भू–गर्भ विभागका अधिकारीहरुले पनि वास्तविकता पत्ता लगाउन सकेका छैनन् ।

विभागका वरिष्ठ भू–गर्भविद् सन्तोष ढकालको नेतृत्वमा एक प्राविधिहरुको टोली गत साता अध्ययन अनुसन्धानका लागि स्वयम्भु पुगेको थियो । ‘ग्राउण्ड पेनिटे«निक राडार’ (जमिनको भित्री सतह नियाल्ने उपकरण) ले वास्तविकता पत्ता लगाउन नसकेको अध्ययन टोलीका सदस्य एवं वरिष्ठ भू–गर्भविद् सुरेश श्रेष्ठले बताउनुभयो ।
‘अध्ययनका लागि राडार पनि लगेका थियौ, हाम्रो राडार सानो क्षमताको भएर होला वास्तविकता पत्ता लागेन’–उहाँले भन्नुभयो । श्रेष्ठका अनुसार विभागसँग अहिले १ सय मेगाहर्ज क्षमताको एउटा मात्रै राडार छ, सो उपकरणले करिव ३० मिटर गहिराईसम्मको मात्रै अध्ययन÷अवलोकन गर्न मिल्छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘५ सय र १ हजार मेगाहर्ज क्षमताका राडार भएको भए सुक्ष्म अध्ययन गर्न मिल्थ्यो र केही पत्ता लाग्ने थियो तर हामीसँग त्यस्ता उपकरण छैनन् ।’

विद्युत सर्ट भएको अनुमान गर्दै आएका विभागका पदाधिकारीहरु खनेर नहेरेसम्म त्यहाँको वास्तविकता पत्ता नलाग्ने बताउँछन् । गत असोज १९ गते विहीवार विहान कोजाग्रत पूर्णिमाको दिन अनन्तपुर मन्दिरबाट पश्चिमतर्फ विच्छ्याइएको ढुंगा तातेको पत्ता लागेको थियो । नियमित पुजा–आजाका क्रममा स्थानीय पुजारीहरु खाली खुट्टा हिड्ने क्रममा अहिले पुन निर्माण भइरहेको अनन्तपुर मन्दिरको फेदैबाट पश्चिम तर्फको ढुंगा तातेको महसुस गरेका थिए ।

सो कुरा पुष्टी भएपछि पुरातत्व विभागका अधिकारीहरु समेत अध्ययन अवलोकनका लागि पुगेपनि अब के कसो गर्ने भन्ने प्रष्ट जवाफ नआएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । ‘प्राविधिकहरुले यसो हो भनेर भन्न सकेका छैनन्, ढुंगा तात्ने क्रम अझै रोकिएको छैन, सो समितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले भन्नुभयो–‘अहिले मौसम चिसिएपनि ढुंगा भने तातै छ ।’

विद्युत सर्ट भएको आशंका गरेका विभागका प्राविधिकहरु २÷३ घन्टा सम्म सो क्षेत्रमा वत्ति निभाएर अध्ययन गर्न आवश्यक भएको बताउँछन् । तर समिति पदाधिकारी भने ढुंगा तातिएको स्थान आसपासमा वत्ति वाइरिङ गरिएकोबारे अनविज्ञ छन् । ढुंगा हेर्ने र त्यसको कारण बुझ्नेहरुको घुइँचो भने हरेक दिन बढिरहेको समितिले जनाएको छ ।

पुरा समाचार

किन तात्छ स्वयम्भूको ढुंगो ?