ब्रम्हपुत्रको पानी फर्काउने योजनासम्बन्धी समाचार झुठो होः चीन


चीनले तिब्बतबाट ब्रम्हपुत्र नदीको पानी सिन्झियाङ प्रान्ततिर फर्काउन संसारको सबैभन्दा लामो सुरुङ बनाउने तयारी गरिरहेको भन्ने समाचारको खण्डन गरेको छ। त्यस्तो समाचार झुठो भएको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताएकी छन्।

आइतबार अबेर साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित एक रिपोर्टमा तिब्बतको पानी सुख्खाग्रस्त सिन्झियाङ प्रान्ततिर फर्काउन १ हजार किलोमिटर लामो सुरुङ खन्ने योजना चिनियाँ इन्जिनियरहरुले बनाइरहेको जनाइएको थियो।

सोही समाचारको हवाला दिँदै भारतीय सञ्चारमाध्यमहरुले चीनले ब्रम्हपुत्रको पानी फर्काउन लागेको समाचार प्रकाशित गरेका थिए। भारतमा यसअघि पनि चीनले तिब्बतबाट उत्पन्न भएका नदीहरुको पानी नियन्त्रण गर्न ताल बनाउने तयारी गरेको समाचारहरु प्रकाशित भएका थिए। यसै विषयमा प्रवक्ता हुआले समाचार साँचो नभएको बताइन ।

यारलुङ साङ्पो नदी भारत प्रवेश गरेपछि त्यसलाई ब्रम्हपुत्र भनिन्छ। एजेन्सीको सहयोगमा