परीक्षा बोर्डको कार्यालय सातै प्रदेशमा



ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशिक कार्यालय खोल्ने भएको छ। कक्षा १२ को अन्तिम परीक्षा र कक्षा १० को प्रादेशिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको बोर्डले प्रदेशसभाको निर्वाचनलगत्तै सबै प्रदेशमा कार्यालय खोल्ने भएको छ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले हाल सञ्चालनमा रहेका ११ वटा शाखा कार्यालयमध्ये केहीलाई प्रादेशिक बनाउने र प्रदेश नम्बर ६ मा नयाँ प्रादेशिक कार्यालय खोल्ने भएको छ।

हाल विराटनगर, पोखरा, जनकपुर, हेटौंडा, चितवन, लाहान, धनगढी, बुटवल, नेपालगन्ज, दाङ र डडेलधुरामा शाखा कार्यालय सञ्चालित छन्। तीमध्ये हाल ६ नम्बर प्रदेशमा एउटा पनि कार्यालय छैन। ‘सुर्खेतमा नयाँ कार्यालय खोल्ने तयारी गरेका छौं।’ –अध्यक्ष प्राडा पौडेलले भन्नुभयो।

बोर्डले प्रदेश सरकार गठन भएपछि सोअन्तर्गत बनेका शिक्षा मन्त्रालयसँग समन्वय गरी प्रादेशिक कार्यालयले खोल्ने भएको छ। बोर्डले तत्कालका लागि प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को काठमाडौं, ४ को पोखरा, ५ को सुर्खेत र ७ को धनगढीमा प्रादेशिक कार्यालय खोल्ने तयारी गरेको छ। अहिले दुईवटा कार्यालय भएको प्रदेशका कार्यालय समायोजन गरेर एउटालाई मात्रै प्रदेशिक कार्यालय बनाउने योजना रहेको जानकारी गराउँदै अध्यक्ष प्राडा पौडेलले भन्नुभयो– ‘अब प्रदेश सरकार बन्नासाथ सबै क्षेत्रमा प्रादेशिक कार्यालय सञ्चालन हुनेछन्।’

बोर्डले परीक्षा सञ्चालन र कार्यालय स्थापना गर्ने विषयमा छलफल शुरू गरिसकेको छ। बोर्डले आगामी शैक्षिक सत्रबाट कक्षा १० को प्रदेशस्तरीय परीक्षा सञ्चालन गर्न सबै तयारी भइरहेको जनाएको छ। बोर्डका सदस्य सचिव एवं शिक्षा मन्त्रालयका सहसचिव लक्ष्मीराम पौडेलले आगामी वर्षबाट कक्षा १० को परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्न तयारी भइरहेको जानकारी दिनुभयो। कक्षा ८ को परीक्षा भने स्थानीय सरकारले सञ्चालन गर्नेछ।

‘अब कक्षा ११ को परीक्षा विद्यालयबाटै लिने व्यवस्था गरेका छौं, कक्षा १० को परीक्षा क्षेत्रीयस्तरबाट सञ्चालन हुन थालेपछि एसईई परीक्षा क्षेत्रीयस्तरमा सञ्चालन हुनेछ। सानोठिमीमा रहेको परीक्षा नियन्त्रण कार्यालय बोर्डको मातहतमा आउनेछ’ –पौडेलले भन्नुभयो।

बोर्डकँ सम्पूर्ण पदाधिकारीको नियुक्ति भइसकेको अवस्थामा बोर्डले परीक्षालाई व्यवस्थितरूपमा सञ्चालन गर्ने जानकारी गराउँदै सदस्य सचिव पौडेलले अब राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण परीक्षा सञ्चालन गर्ने बताउनुभयो।

बोर्डले परीक्षाको दीर्घकालीन योजना तयारी गरी कार्यान्वयन गर्ने, विद्यालय शिक्षा परीक्षाको मर्यादा र गुणस्तर कायम भए नभएको अनुगमन गर्ने र आवश्यक भएमा केही जिल्लामा जिल्ला स्तरीय कार्यालय स्थापना गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्