विर्तामोडको कर्फ्यू अझै कायमै, उच्चस्तरीय छानविन समिति गठन



pc: routine of nepal banda

नेपाल समाचारपत्र, भद्रपुर ।
शुक्रवार झापा अर्जुनधाराका लक्ष्मण सिवाकोटीको हत्याको विषयलाई लिएर लगाइएको कफ्र्यु आईतबार पनि जारी छ । उत्पन्न घटनाको बिषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा शनिबार भएको सर्वपक्षिय भेलामा पीडित पक्षसँग आठ बुँदे सहमति भएपनि कफर्यु अझै जारी रहेको हो ।

जारी रहेको कफ्र्यु हटाउने बिषयमा पुनः इलाकामै जिल्लास्तरीय सुरक्षा समितिले छलफल सुरु गरेपनि झन कडाइकासाथ लागु गरिएको छ । शनिवार राती पीडित पक्षले अवरोध जनाउदै टायर वाल्न थालेपछि बिर्तामोडको बल्झिएको परिस्थित झन विग्रदै गएकोले कफ्र्यूृ कडा बनाएको पाइएको छ । शुक्रवार रातीबाटै कफ्र्यु हटाउने बारे छलफल भइरहेको थियो ।

तर, प्रर्दशनकारीले बैठक जारी भएकै बेला अघि गरेको निर्णयको विरुद्ध फेरी शनिश्चरे रोडमा मसाल जुलुस प्रर्दशन गरेको जानकारी पाउन साथ सुरक्षा समितिको बैठकले कफ्र्यु हटाउने निर्णयबाट पछि हटेको र कफ्र्यु शनिवार रातभर पनि जारी राख्ने भन्दै बैठक टुंगिएको प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए ।

एसपी केसीका अनुसार कफर्यु हटाउने बारे आइतार फेरी सुरक्षा समितिको बैठकले बसी हटाउने वा नहटाउने बारे छलफल गर्ने जानकारी दिए । मृतकको आइतवार दाहसंस्कार गरिने भएकोले त्यसपछिको अवस्थालाइ हेरेर कफ्र्यूको विषयमा छलफल हुने उनले जनाए । प्रशासनले शुक्रवार दिउँसो साढे १ बजेदेखि बिर्तामोड आसपासको क्षेत्रमा कफ्र्यु लगाएको छ ।

उच्चस्तरीय छानविन समिति झापामा

बालक लक्ष्मण सिवाकोटी हत्या काण्ड लिएर शुक्रवार बिर्तामोडमा प्रहरीको गोली लागेर नरेश थापाको मृत्यु भएसँगै झापा प्रशासनले कफ्र्यु जारी गरेपछि गृह मन्त्रालयले तत्काल उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । गृहका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्य उच्चस्तरीय छानविन समिति गठन गरेको हो ।

छानविन समिति शनिवार दिउँसो ३ बजे झापा आइपुगेको प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए । गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवि अधिकारी र राष्ट्रिय अनुसंन्धान विभागका अनुसंन्धान निर्देशक हरिहर पौडेल रहेका छन् ।

समितिले बिर्तामोडमा घटेको घटनाको बारेमा अनुसन्धान गरी सात दिन भित्र राय सुझावसहितको प्रतिवेदन गृहमा बुझाउनु पर्ने छ । झापा आएका छानविन समिति प्रहरी कार्यालय झापामा रहेको र आइतबार विहान देखि घटनाको गहिरो अनुसन्धान सुरु गर्ने एसपी केसीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्