गैरकानुनी धन्दामा संलग्न लम्साल टानको अध्यक्ष उम्मेदवार

0
Shares

काठमाडौँ । पर्वतीय तथा पदयात्रा क्षेत्रको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) विस्तारै विवादित र विकृत हुँदै गएको छ । टानमा अनियमिता र व्यवसायमा बद्नाम भएकाहरु फेरी नेतृत्व हत्याउने दौडमा लागेका छन । व्यवसायलाई बद्नाम गराउने क्रियाकलापदेखि टिम्सको रकम हिनामिनामा संलग्न भएका व्यक्ति आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा देखिएका छन । टानको यसपटको नेतृत्वमा दुई पूर्व महासचिवको नेतृत्वमा प्यानल नै प्रतिस्पर्धा गर्दैछ । अाइतबार हुने टानको अधिवेशनमा नवराज दाहाल र मोहन लम्साल नेतृत्वका लागि प्रतिस्पर्धामा छन । उनीहरु दुबै टानका पूर्व महासचिव हुन ।

लम्सालको काममा अख्तियारको अनुसन्धान
अध्यक्षको प्रतिस्पर्धामा रहेका लम्साल विवादित पात्र हुन । झण्डै साँढे दुई दशकदेखि पर्यटन व्यवसायमा संलग्न लम्साल मकालु एडभेन्चर ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक हुन । लम्साल टानको महासचिव हुँदा टिम्सको रकम जथाभावी खर्च गरेको विषयमा अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ । लम्सालले महासचिव हुँदा खनेको बाटोमा हिड्दा रमेश धमला (टानका तत्कालीन अध्यक्ष) जो हाल नेपाली कांग्रेस धादिङको सभापति छन भने अहिले धादिङबाट प्रदेशसभामा चुनाव लड्दैछन उनी ठूलो बेरुजुमा परे । जुन आजका दिनसम्म फछ्यौट हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै ४० दिन अघिमात्र टानबाट पछिल्लो पटक लम्साल महासचिव हुँदाको कार्यसमितिको निर्णय पुस्तिका लगाएतका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । त्यसो त रमेश धमलाले नेतृत्व गरेको टानको कार्यसमितिको सम्पूर्ण कागजपत्र पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर छानविन गरिरहेको छ । टिम्सको रकम हिनामिना र अन्य परियोजना सञ्चालनमा भएका अनियमितताको अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सन् २०११ देखि २०१३ को कार्यसमितिमा लम्साल टानको महासचिव थिए ।

गैरकानुनी कामका विचौलिया
मोहन लम्साल गैर कानुनी काम गरेर पैसा कामउने धन्दामा छन भन्ने कुराको प्रमाण एक वर्ष अघिको घटनाले प्रष्ट पार्छ । एउटा भारतीय नागरिक जो त्यहाँका सुरक्षाकर्मी पनि हुन उनलाई हिमाल नै नचढी हिमाल चढेको प्रमाणपत्र दिलाउन लम्साल र उनको मकालु एडभेन्चर ट्रेक्स प्रालिको ठूलो भूमिका छ । लम्सालले भरतको महाराष्ट्र प्रहरीमा कार्यरत भारतीय नाकगरिक दिनेश चन्द्रकान्त राथोड र उनकी श्रीमति तारकेश्वरी चन्द्रकान्तलाई हिमाल नै नचढी हिमाल चढेको प्रमाणपत्र दिलाउन विचौलियाको काम गरेका थिए । उनी गलत धन्दामा लागेको भन्दै व्यवासयीहरुले पछिल्लो समय चर्को आलोचना गर्दै आएका छन ।

यो तस्बीर अंग्रेजी दैनिक द हिमालयन टाइम्सको अनलाइन संस्करणबाट साभार गरिएको हो ।

टिम्स रोक्न अदालतको प्रयोग 
पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड बिक्री बापतको रकम पर्यटन बोर्ड र टान दुबैले उठाउँदै आएका छन । टानमा चन्द्र रिजालको नेतृत्व स्थापित भैसकेपछि टानकै पूर्व अध्यक्ष समेत रहेका दीपक महत र मोहन लम्सालको डिजाइनमा अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्चमा मुद्दा हाले । मुद्दामा बोर्ड र टानले संयुक्त रूपमा उठाउँदै आएको टिम्सको रकम सिधै राज्यकोषमा दाखिल गर्न माग गरिएको थियो । तथापी सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नमानेपछि अहिले पनि उक्त मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ । आफू नेतृत्वमा हुँदा जथाभावी खर्च गर्ने र भ्रष्टाचार गर्ने अनि नेतृत्वमा पुग्न नपाएपछि टानको आम्दानीको मुख्य स्रोत टिम्स कार्डको बिक्रीको रकम नै खोस्न अदालत मार्फत जुन दुष्प्रयास भएको छ यो टानका लागि गम्भीर र दुःखद विषय हो । पाएसम्म टानलाई व्यक्तिगत र समूहगत स्वार्थमा प्रयोग गर्ने आफूले नपाएपछि संस्थागत विकासमै असर पार्ने गरी जति पनि प्रयास भएका छन यसले व्यवसायको वातावरण सिर्जना गर्ने भन्दा पनि विगार्ने निश्चित छ । पर्यटन बोडएको दफा ७ अनुसार बोर्ड र टानका बीचमा भएको समझदारी अनुसार टिम्स कार्ड बिक्रि हुँदै आएको छ भने त्यसमा टान पनि सझेदार भएको छ । बोर्ड र टानले नेपाल आएका विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य टिम्स कार्ड लिनुपर्ने व्यवस्था गरेको छ । टिम्स कार्ड सार्क राष्ट्रका नागरिकका लागि व्यक्तिगत जाँदा ३०० सय संस्थागत ६०० उठाउँदै आएको छ भने सार्क राष्ट्र बाहेकका विदेशी नागरिकबाट व्यक्तिगत १००० हजार र संस्थागत २००० हजार उठाउँदै आएको छ । यसरी उठाएको शुल्कबाट टान, नेपाल पर्यटन बोर्ड र दुवै संस्थाको संयुक्त कोषमा ३०/३० प्रतिशत र मजदुर कल्याणकारी कोषमा १० प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको छ । उक्त रकमबाट बोर्ड तथा टानले सम्बन्धित क्षेत्रको विकास र प्रवद्र्धन तथा मजदुरको हकहितमा खर्च गर्नुपर्ने व्यवस्था छ । तर त्यही रकम टानबाट खोस्न अहिले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका लम्साल र पूर्व अध्यक्ष महतको योजना के होला त्यो त सर्वोच्चको फैसला आएपछि मात्र भन्न सकिन्छ । तर तत्कालका लागि सर्वोच्चले निवेदकको माग बमोजिम अन्तरिम आदेश नदिएबाट यो प्रयास सफल नहुने देखिन्छ ।

दाग मेटाउन आफ्नै लागनीमा सम्मानित
गन्तव्य नेपालमार्फत लगानी आफैँले लागनी गरी लम्साल ‘टुरिजम म्यान आफ दी इयर अवार्ड २०१६’ नामबाट विभुषित भए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लम्साललाई उक्त अवार्ड प्रदान गरेका थिए । भारतीय नागरिकलाई हिमाल नै नचढी प्रमाणपत्र दिलाएको दाग मेटाउनका लागि उनले उक्त अवार्डमात्रै लिगेनन लगत्तै पयर्टन बोर्डबाट गुडविल एम्बास्डरको उपाधि लिए । उक्त उपाधि दिलाउन युवा व्यवसायी राजेन्द् सापकोटाको समेत भूमिका रहेको छ ।