गठबन्धनको ११० सिट बाँडफाँड, एमालेले ७२ र माओवादीले ३३ सिट लिने सहमति, १८ सिट शीर्ष तहले टुंगो लगाउने



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमाले र नेकपा माओवादीबीच निर्वाचन क्षेत्र बाँडफाँडमा सहमति भएको छ। वाम गठबन्धले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १ सय २८ मध्ये १ सय १० क्षेत्रको बाँडफाँट टुंगो लागेको हो। नेकपा एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलले १ सय १० क्षेत्रको बाँडफाँडमा सहमति जुटेको छ। वाम गठबन्धनबीच भएको सहमतिअनुसार माओवादी ३३ र एमालेले ७२ सिट लिएको छ।

चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति गर्दै वाम गठबन्धन बनाएका एमाले र माओवादीबीच भएको ६ बुँदे सहमतिअनुसार माओवादीले ४० र एमालेले ६० प्रतिशत निर्वाचन क्षेत्र लिने सहमति भएको थियो। सोहीअनुसार आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि वाम गठबन्धनले निर्वाचन क्षेत्र बाँडफाँड गरेर साझा उम्मेदवार खडा गरिसकेका छन्।

कार्यदलमा सहभागी एक नेताका अनुसार शीर्ष नेताहरूबीच छलफलपछि बाँकी रहेका सिटको शनिबारसम्म टुंगो लाग्नेछ। सहमति जुट्न बाँकी रहेका १९ निर्वाचन क्षेत्रमा सहमतिका लागि गृहकार्य भइरहेको ती नेताले जानकारी दिए।

प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि सिट बाँडफाँट भएको छ। स्थानीय चुनावको मत, सम्भावित उम्मेदवारको व्यक्तित्वलगायतका आधारमा सिट बाँडफाँट गरिएको बताइएको छ। धनकुटासँगै तेह्रथुमको प्रदेश र प्रतिनिधिसभाको सबै सिट एमालेले पाएको छ भने इलाममा माओवादीले प्रदेशसभाको एक सिट लिएको छ। दुई दलबीच सिन्धुलीको प्रदेश र प्रतिनिधिसभा आधा–आधा लिने सहमति भएको छ भने मकवानपुरमा प्रतिनिधिसभाको दुवै सिट एमालेले लिएको छ। प्रदेशमा भने आधा–आधा गरी सहमति कायम गरिएको छ।

चितवनमा एमाले र माओवादीले एक⁄एक निर्वाचन क्षेत्र लिएका छन्। एउटा निर्वाचन क्षेत्रको भने अझै टुंगो लाग्न सकेको छैन। चितवन ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्ने मोटामोटी सहमति भएको छ। काभ्रेमा एमालेले प्रतिनिसिभाको एक र प्रदेशको तीन सिट लिएको छ भने माओवादीले दुवै सभाको एक⁄एक सिट पाएको छ।

काठमाडौंमा एमालेले प्रदेशको १७ र प्रतिनिधिसभाको ७ सिट लिएको छ। माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाको तीन⁄तीन सिट पाएको छ। ललितपुरमा एमालेले प्रतिनिधिसभाको दुई सिट लिएको छ भने माओवादीले एक सिट लिएको छ। तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मीको प्रतिनिधिसभा एमालेको भागमा परेको छ भने अर्घाखाँचीको प्रतिनिधिसभा माओवादीले लिएको छ। कपिलवस्तुमा भने दुई सिट स्वतन्त्रलाई दिइएको छ भने एक सिटबारे टुंगो लागेको छैन। दाङमा एमाले र माओवादीले एक⁄एक सिट लिने सहमति भए पनि एउटा निर्वाचन क्षत्रेको भने टुंगो लाग्न बाँकी छ।

बाँकेका ३ सिटमध्ये एमाले र माओवादीले एक⁄एक बाँडेका छन् भने १ स्वतन्त्रलाई दिइएको छ। रूपन्देहीमा एमालेले ४ सिट पाएको छ भने माओवादीले १ सिट लिएको छ। झापामा माओवादीले प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ सिट पाएको छ। मोरङमा एमालेले ३ र माओवादीले २ सिट लिने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्